
काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मुलुकको स्वाभिमान र राष्ट्रिय अखण्डता खतरामा पर्ने गरी कुनै काम नगर्न सत्तामा रहेका राजनीतिक दलहरूलाई सुझाव दिएका छन् ।
केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाउँदै उच्च राजनीतिक तहको भेटघाट अशोभनीय रहेको बताएका हुन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, ‘नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन्, उहाँहरु निराश भएर फकिर्नुपर्छ । तर छिमेकका कर्मचारी आउँदाखेरि राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरु, आफूलाई असाध्य जान्ने सुन्ने ठान्ने, देशका स्वाभिमानको पक्षमा मुन्टो हल्लाउँदै हिँड्नेले किन यसरी विदेशीहरुका अगाडि लम्पसार परिरहेका छन् ?’
नेताहरुमा शक्ति राष्ट्रको मान्छेको आशिर्वाद लिने र आफ्नो दुनो सोझ्याउने प्रवृत्ति देखिएको उनले बताए ।














