Logo
Logo

महाशिवरात्रिका लागि तयारी पूरा, २० लाख दर्शनार्थी आउने अनुमान


567
Shares

काठमाडौं । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको छ । बुधवार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले शिवरात्रिका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो ।

शिवरात्रि पर्व फागुन ६ गते परेको छ । नेपाल स्काउट समेतका गरी करिब चार हजार जना स्यंसेवकहरु परिचालन गर्ने र सादा पोशाकमा समेत प्रहरीहरू परिचालन गरी मेला क्षेत्रमा विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार उपसमिति संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिए ।  

पशुपति क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारको नशालु पदार्थ तथा गाँजा–भाङ, जाँड–रक्सी लगायतको बिक्री वितरण, ओसारपसार भण्डारण एवं प्रयोग गरे कारबाही गर्ने कोषले जनाएको छ । गत वर्ष करिब १४ लाख दर्शनार्थीले आराध्यादेव पशुपतिनाथको दर्शन गरेको र यस वर्ष २० लाख दर्शनार्थी आउने अनुमान कोषले गरेको छ । 

शिवरात्रीका दिन पशुपतिनाथको चारै वटा ढोका बिहान तीन बजे खुल्ला गरिने र पशुपति प्रवेशका लागि विभिन्न स्थानबाट चार वटा लाइनको व्यवस्था गरिएको प्रचारप्रसार उपसमिति संयोजक सुवेदीले जानकारी दिएको छ ।

शिवरात्रिका दिन भगवान् शिवको पूजा आराधनाका लागि लाइनमा बसेका बिरामीहरूलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुने कोषले जानकारी दिएको छ । त्यस्तै एम्बुलेन्स र आपत्कालीन अवस्थाका लागि कोषले दमकल समेत तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको बताएको छ । 

शिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजनहरूको सङ्ख्या र समग्र व्यवस्थापनलाई समेत मध्यनजर गर्दै कोषले पर्यटन मन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विभिन्न कार्यहरू गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्