
काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा नयाँबसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
घटनामा संलग्न अन्यको खोज कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दैलेख भगवती गाँउपालिका घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही खैरेनी घर भई काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा शिवसताक्षी घर भई स्वयम्भू बस्ने प्रदीप बस्नेत रहेका छन् ।
पक्राउ परेकाहरूबाट डिजिटल घडी, एयरफोन, केही थान मोबाइल ४ हजार बराबरको रिचार्ज कार्ड लगायत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
लुटपाटका घटनामा पक्राउ परेकाहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट चार दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














