काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ महाधिवेशनमा १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन् । सात ७ वर्षपछि अखिलको निर्वाचन हुन गइरहेको हो ।

एक अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जना उम्मेदवार बनेका छन् । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा छन् ।
यस्तै, महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् । त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् ।
जसमध्ये ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु भएको २३औँ महाधिवेशनबाट निर्विरोध हुनेहरुमा अधिकांश मधेश र प्रदेशतर्फ महिला सदस्य रहेका छन् । १९९ सदस्यीय केन्द्रीय कमिटीका ३९ जना निर्विरोध भएको निर्वाचन आयोगका प्रमुखकुमार खकुरेलले जानकारी दिए ।














