काठमाडौं । चोरी तथा डाँका सम्बन्धी कसूरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका–२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका संचालक तेह्रथुम आठराई गाउँपालिका–२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका–१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन् ।
काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














