Logo
Logo

नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति कोष स्थापना गर्न सम्झौता


756
Shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारी पत्र आदानप्रदानसमेत गरिएको छ ।

समझदारीको लागि आयोजित समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने यस कामको लागि प्रभु बैंकलाई धन्यवाद दिँदै सम्झौताले प्रहरी कर्मचारीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरे । सिसिटिभी जडानलगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैंकसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताए । साथै पछिल्लो समयमा बढ्दो डिजिटल ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले बैंकिङ क्षेत्रसँग सहकार्य गर्दै जानेमा उनले जोड दिए ।

उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले नेपालको एउटा व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत  प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।

नेपाल प्रहरी कार्य योजना, २०७९ को प्रहरी हवल्दार तथा जवान लक्षित कार्यक्रम अन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारका सन्ततिहरूलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यका साथ यो सम्झौता भएको हो । 

सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततिहरूलाई कम्तीमा दुई जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको विद्यालयमा गाडी भाडा समेत निरन्तर उपलब्ध हुनेछ । 

छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रुपैयाँ प्रभु बैंक लिमिटेडले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी-प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्