
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्नेगरि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।
उक्त बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति निर्वाचन लगायत पछिल्लो राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि केन्द्रीय समिति गठन भएको छैन । अहिले केन्द्रीय समिति निर्माण गर्ने गृहकार्य सुरु भएको छ । त्यसलाई कार्यकारिणी समितिको बैठकबाट टुग्यांउने लोसपाले जनाएको छ ।
त्यस्तै पार्टी अध्यक्ष ठाकुरलाई राष्ट्रपति उम्मेदवारका लागि उठाउनेबारे छलफल हुने स्रोतले बतायो । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाहेकबाट राष्ट्रपति बनाउने अडान कायम राखेसँगै सत्ताबाहिरका दलबाट पनि राष्ट्रपति उम्मेदवारबारे छलफल हुन थालेको हो ।
दलहरुका बीचमा सहमति भएमा ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकिने लोसपाले जनाएको छ ।














