Logo
Logo

गणतन्त्रमा पनि महाराज आतंक



एउटा भनाइ छ– ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ । काठमाडौंको हाँडीगाउँमा यो जात्रा वर्षमा एकपटक लाग्छ । तर, ‘कहीँ नभएको सवारी’ यहाँ बारम्बार भइरहन्छ ।

प्रशंग, पछिल्लो भीभीआइपी सवारीको हो । संघीय संसद बैठकलाई सम्बोधन गर्न गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी भयो । शीतल निवासदेखि नयाँ बानेश्वरसम्मको उक्त भीभीआइपी सवारीले काठमाडौंका सडक अस्तव्यस्त भए । सर्वसाधारण घण्टौँ जाममा परे । जनताले हिँड्नसमेत पाएनन् । हिँड्न खोज्नेमाथि प्रहरीको लाठी बज्रियो । डाक्टर कुटिए ।

वीर अस्पतालका डा. जनिथलाल सिंह कुटिएपछि चिकित्सक आन्दोलित भए । सम्पूर्ण स्वास्थ्य सेवा झण्डै १२ घण्टा ठप्प भयो ।

चिकित्सक आन्दोलित हुनु स्वभावि हो । तर, उपचारको माग गर्दै बिरामी नै आन्दोलित हुनुपर्ने बाध्यता आइलाग्यो । यसलाई अस्वभाविक मान्नुपर्छ ।

राष्ट्रपतिको सवारीले सर्वसाधारण दोहोरो मारमा परे । शुक्रबार जामले विरामी अस्पताल जान पाएनन् । शनिबार सरकारी बिदा नै पर्यो । आइतबार बिहानै उपचारका लागि हस्याङफस्याङ गर्दै अस्पताल पुगे । तर, अस्पतालमा सूचना टासिँएको थियो– ‘सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको छ ।’

गणतन्त्रमा पनि भीभीआइपी सवारीको नाममा सडक आतंक चलाइन्छ भने त्यसको अस्वभाविक परिणाम प्रतिक्षा गर्नुको विकल्प हुँदैन । भीआइपी नामधारी सामन्ती संस्कार र संस्कृतिको मैमत्ता प्रदर्शनले व्यवस्था विरुद्धमा जनताको आक्रोश फुट्न सक्छ ।

बिरामी र आफन्त निराश हुँदै फर्के । केही बिरामीले भने उपचारको माग गर्दै प्रर्दशन गरे । संविधानमा ३१ वटा मौलिक हक छन् । जसमा स्वास्थ्य प्रमुख हो । स्वास्थ्यसम्बन्धी हकमा भनिएको छ– ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन ।’ तर, राष्ट्रपतिको सवारीका कारण जनता तीन दिन स्वास्थ्य सेवाबाट बञ्चित भए ।

चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ । कारबाही पनि होला ! तर, नागरिकको मौलिक हक खोस्ने चिकित्सकमाथि पनि अवश्य प्रश्न उठ्छ– जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइन्छ ?

हाम्रो देशमा भीभीआइपी आतंक नयाँ होइन । राणा र राजाका पालादेखिकै हो । तर, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दासमेत यो पराम्परा रहनुचाहिँ विडम्बना नै हो । भीभीआइपी सवारी आतंकलाई लिएर केही दिन चर्चा हुन्छ । परिचर्चा हुन्छ । तर, फेरि त्यही परम्परा अगाडि बढ्छ । जनताले उहीँ नियति भोगिरहनुपर्छ ।

भीभीआइपी वा भीआइपी सवारीसम्बन्धी न्यूनतम कार्यविधि भएपनि चाहिनेभन्दा बढी नै ढर्रा हुन्छ । त्यसले समस्यामा पार्ने भनेको सर्वसाधारणलाई हो । त्यसै पनि हरेक दिनको ट्राफिक जामले जनता आजित छन् । भीआइपी सवारीले आक्रोशित बन्छन् । मुर्रमुरिन्छन् । र, अन्त्यमा अवाक् भएर हिँड्छन् ।

राजनीतिप्रति आमनागरिकमा वितृष्णा छ । जहिल्यै हेपिनुपरेको छ । जनता नेतालाई सिंहदरबारसम्म पुर्याउँछन् । तर, त्यहीँ सिंहदबार जान पाउँदैनन् । सरकारी कार्यालय जाँदा जनताको करले तलब खाइरहेका कर्मचारीले खाउँला जस्तै व्यवहार गर्छन् ।

राज्यका सेवासुविधा लिने बेलामा मात्र होइन, सडकमा निस्कँदा समेत अनेकन अवरोध खेप्नुपर्छ । भीआइपीहरुको सवारी हुँदा जनतालाई रोकेर, छेकेर, घेरेर राख्छन् । सवारीमा मानवीयता नै मर्छ ।

बोलीमा सँधै जनताका लागि भनेर रटाइन्छ । जहाँ गएर जे भनेपनि जनताका लागि भन्ने गरिन्छ । तर, व्यवहारमा भने गणतन्त्रका शासकले पनि राजतन्त्रकालीन संस्कारलाई ग्वाम्मै अँगालो हालेका छन् ।

उनीहरु भयानक भ्रममा छन् । उनीहरूलाई लाग्दो हो– ‘भीआइपी सवार गाडी पटक्कै रोक्नु हुँदैन । मान्छे मरेपनि कानुन लाग्दैन । यो वर्गलाई कुनै ऐन, कानून, नियमहरूले रोक्दैन, छेक्दैन ।’

जब भीआइपीको दर्जा पाएको वर्ग सडकमा निस्कन्छन् । मैमत्त साँढे सडकमा हिँडेको बेलामा भन्दा पनि आतंकित हुनुपर्छ । दृश्य नियाल्दा यस्तो लाग्छ– ‘जति बढी जनतालाई आतंकित बनायो । उति नै लोकले आफूलाई अलौकिक जगतका विशिष्ट प्राणी ठान्छन् ।’

कैयन् मुलुकमा राष्ट्रपति सार्वजनिक यातायातमा सवार गरेको समाचारहरुमा देख्दै र पढ्दै आएका छौँ । उनीहरु सर्वसाधारणसँगै यात्रा गर्छन् । तर, हाम्रा भीआइपीलाई लाग्छ– जनता ‘कालो बिरालो’ हुन् ! जसले बाटो काट्यो भने अशुभ हुन्छ !

जनताकै छोराछोरी राष्ट्रपतिको कुर्सीमा पुगेका छन् । तर, ती पदमा पुगेपछि नागरिकको तहबाट माथि उक्लन्छन् । एकाएक ‘महाराजा’ बन्न पुग्छन् । राष्ट्रपतिको सुरक्षाको जिम्मा लिएका सुरक्षा निकायले पनि आफूलाई चाकडीमै अव्यस्त बनाउँदा वातावरण आतंकित बन्न पुग्छ ।

भीभीआइपी सवारी आतंक वर्तमान राष्ट्रपतिका बेलामा मात्र देखिएको होइन । पूर्ववर्ती डा. रामवरण यादवका पालामा पनि यही स्थिति थियो । उनको पालमा यसरी नै आलोचना हुन्थ्यो ।

उच्च पदस्थ व्यक्ति आवतजावत गर्दा सुरक्षा खतरा हुने ह्ुँदा सवारी आवगमन ठप्प पार्नु परेको सुरक्षा निकाय बताउँछ । तर, अहिले सर्वहारा वर्गको मुक्तिका लागि लामो समय संघर्ष गरेका व्यक्ति नै उच्च पदमा छन् । उनै जनताबाट कसरी असुरक्षित बने ? यस्तो स्थिति कसरी आयो ?

हेक्का राख्नुपर्ने कुरा के हो भने हिजो राणा शाशन, पञ्चायत र राजतन्त्रलाई जनताले आर्यघाट लगेर सेलाएका थिए । त्यसको अन्तर्य यस्ता भीभीआइपी वर्गहरूको चुरीफुरी सहन नसक्नु एउटा कारण थियो ।

गणतन्त्रमा पनि भीभीआइपीको नाममा सडक आतंक चलाइन्छ भने त्यसको अस्वभाविक परिणाम नआउला भन्न सकिँदैन ।

भीआइपी नामधारी सामन्ती संस्कार र संस्कृतिको मैमत्ता प्रदर्शनले व्यवस्था विरुद्धमा जनताको आक्रोश फुट्न सक्छ ।

हुन त हरेकपटक समस्या उत्पन्न हुन्छ । केही दिन हुने चर्चा हो तर, फेरि पहिलेकै स्थितिमा अगाडि बढ्छ । वास्तवमा यहाँ प्रवृत्ति नै खराब छ । गुन्द्रीमुनि फोहोर थुपारेर घर सफा हुँदैन ।

सर्वसाधारणलाई दुःख नदिई पनि सवारी गर्न सकिन्छ । त्यसका निम्ति वैकल्पिक व्यवस्था गर्न पनि सकिन्छ । यस्तै संस्कार चलिरह्यो भने नागरिकबाट लाञ्छित हुने अवस्था आउन सक्छ । सुरक्षा निकायले पनि सकेसम्म जनतालाई दुःख नहुने गरी भीभीआइपी सवारी चलाउन पहलकदमी गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्