Logo
Logo
कला

‘डाक्टर पढ्न छाडेर गायिका बनेकी हुँ’



काठमाडौं । गायिका रितु कँडेल गीत संगीतले मोहित नगरेको भए अहिले विरामीको सेवा गरिरहेकी हुन्थिन् । तर, सानैदेखि नाच्ने/गाउने आदतका कारण उनी चर्चित गायिका बनेकी छिन् । ‘झुटो माया जाल’जस्ता दर्जनौँ चर्चित गीतका गायिका रितु भन्छिन्, ‘बुबाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । तर, म गायनप्रति मोहित भएँ । त्यसैले डाक्टर बन्न सकिनँ ।’

करिब डेढ दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय चितवनकी रितु भन्छिन्, ‘सानोमा नाच्न गाउन भनेपछि फुरंग हुन्थेँ । सबै कुरा बिर्सन्थेँ ।’ तर, डाक्टर बन्न नपाएकामा रितुलाई पछुतो छैन । ‘रहर र इच्छा पूरा गरेकी छु’ रितु भन्छिन्, ‘गीतसंगीतमै खुसी छु ।’ सबै विधाका गीत गाउन सक्ने रितुलाई नै थाहा छैन– अहिलेसम्म कति गीत गाएँ भन्ने । उनका एल्बमचाहिँ सात वटा छन् । गायिका रितु कँडेलसँग एमपी सुब्बाको जम्म्काभेट :

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
मंसिरदेखि नै व्यस्त छु । अहिले मेला–महोत्सवको सिजन छ । त्यसैले काठमाडौंमा भन्दा पनि जिल्लाहरूकै कार्यक्रममा व्यस्त छु ।

गीत रेकर्डिङको काम पनि त भइरहेको होला ?
नयाँ गीतहरू गरिरहेकी छु । भर्खरैमात्र एउटा मेरो रोइला गीत सार्वजनिक भएको छ । भ्यालेनटाइन–डेलाई लक्षित गरेर ‘साथी’ र ‘लुकिछिपी माया लाउन’ बोलको गीत गाएकी थिएँ । तर, व्यस्तताले गर्दा भिडियो बनाउनै भ्याइएन ।

भ्यालेनटाइन–डेलाई तपाईँ कसरी लिनुहुन्छ ?
यो विदेशी संस्कार हो । तर, केही वर्षयता नेपालमा पनि युवापुस्तामाझ भ्यालेनटाइन–डेको महत्व बढ्दै गएको पाइन्छ । खासगरी भ्यालेनटाइन–डे एउटा बाहाना हो । प्रेम गर्नहरूका लागि त हरेक दिन ‘भ्यालेनटाइन–डे’ हो ।

तपाईँलाई प्रेम दिवसको महत्व छैन र ?
मेरो लागि त सधैं प्रेम दिवस । एउटा प्रेमी होइन, म हजारौँको प्रेममा रमाउने मान्छे हुँ । मेला, महोत्सव तथा स्टेज कार्यक्रमहरूमा सधैं दर्शक श्रोताको प्रेममा रमाउँदै आएकी छु ।

प्रेम दिवसको मौकामा अहिलेसम्म डेटिङ जानुभएको छैन ?
डेटिङ जानै पाएको छैन । मन नभएर पनि होइन । न त चान्स नपाएर भन्नु । खासगरी समय नै नभएर हो ।

गीतसंगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?
सानैदेखि गाउँथे । तर, औपचारिक रुपमा लागेको करिब १४ वर्ष भयो । यसबीचमा गायनमा मात्र सक्रिय भइनँ, संगीत विषयमै स्नातकोत्तर गरेँ । अब संगीतमै पीएचडी गर्ने सोचमा छु ।

गीतसंगीतले सानैमा कसरी आकर्षित ग¥यो ?
म गाउँमा हुर्केको मान्छे । बागलुङको गल्कोटमा जन्मेर चितवनमा हुर्केकी हुँ । म सानो हुँदा गाउँघरमा तीज खुब मनाइन्थ्यो । सानोमा गीत सुन्नै नहुने, नाचिहाल्ने, गाइहाल्ने खालकी थिएँ । नाच्न गाउन भनेपछि हुरुक्कै हुन्थेँ । बाबुले मलाई डाक्टर बनाउन चाहनुभएको थियो । तर, मलाई गीतसंगीतले बढी मोहित बनायो । त्यही भएर डाक्टर बन्न छाडेर गायिका बनेँ ।

तपाइँ लोक, लोकपप वा आधुनिकमध्ये कुन बढी गाउनुहुन्छ ?
सबै प्रकारका गीत गाउँछु । लोकदोहोरीदेखि फिल्मी गीतसम्म गाएकी छु । मैले तीज गीत पनि गाएकी छु । तर, बढी गाउने भनेको लोकपप र लोकशैलीका गीत हुन् ।

तपाइँलाई चिनाउने गीत कुन हो ?
‘झुटो माया जाल’ । यो गीतले मलाई गायिका रितु कँडेलका रुपमा चिनायो । त्यसपछि ‘बतास’ बोलको गीतले मलाई थप उचाइमा पुर्यायो । त्यसपछिका अन्य गीतहरू पनि दर्शक तथा श्रोताले रुचाएका छन् ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
कति गाएँ, थाहै छैन । मैले कोमल वलीको एल्बममा पनि गाएकी छु । फुटकर गीत कति गाएँ, त्यो यादै हुन छाड्यो । मेरो सोलो एल्बमचाहिँ सात वटा छन् ।

डेढ दशक पहिले र अहिले स्टेज कार्यक्रममा के भिन्नता आयो ?
धेरै परिवर्तन आएको छ । त्यो बेला इन्टरनेट थिएन । अहिले इन्टरनेट र स्मार्टफोनले गर्दा कलाकार र श्रोतालाई नजिक बनाएको छ । दर्शक तथा श्रोतासँग नजिक भएपछि स्टेज कार्यक्रमहरूमा बेग्लै रौनकता हुने नै भयो । इन्टरनेटले गर्दा प्रचारप्रसारमा पनि सहज भएको छ । पहिले जस्तो कलाकार बन्नलाई अहिले गाह्रो छैन । इन्टरनेटकै कारण भाइरल हुने प्रवृति पनि आएको छ ।

तपाइँलाई ‘भाइरल’ हुने मन छ कि छैन ?
मलाई भाइरल हुने मन छैन । साधना गरेर टिकाउ बन्नुपर्छ भन्ने मेरो मान्यता हो । भाइरल भनेको खहरे खोला जस्तै हो । आज छ, भोलि सुक्छ । त्यसैले उद्योगमा टिकिरहन मन छ भने साधना गर्नुपर्छ ।

हिजोआज मेला महोत्सवमा कस्ता गीत चल्छ ?
नाच्ने, गाउने खालका गीतहरू बढी चल्छ । किनकि, मेला महोत्सव भनेको रमाइलोका लागि पनि आयोजना गरिने हो ।

स्टेजमा तपाईँले बढी गाउने गीत कुन हो ?
‘झुटो माया जाल’ र ‘बतास’ । यीबाहेक दर्शकको डिमाण्डअनुसार गाउँछु । तर, यी दुई गीतचाहिँ प्रायः गाउन छुटाउँदिन ।

प्रतिक्रिया दिनुहोस्