Logo
Logo

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो : नैनसिंह महर


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् । प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले शासकीय व्यवस्थामा लोकतन्त्र नै सबैभन्दा उत्कृष्ट शासन व्यवस्था भएको बताए ।

’लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । तर, आज देशभित्र विद्यमान रहेका समस्याहरूको कारण बहुदलीय व्यवस्था हो कि भन्ने भ्रमजाल छर्ने काम लोकतान्त्रिक व्यवस्थाको जन्मजात विरोधीहरूबाट भइरहेको छ । गल्ति–कमजोरी, असल–खराब राज्य सञ्चालकहरूको हातबाट हुनसक्छ तर विषयहरूको समाधान तथा हल भने लोकतान्त्रिक प्रणाली भित्रमात्र सम्भव छ,’ महरले भने । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने अभिव्यक्ति दिएसँगै उक्त अभिव्यक्तिलाई इंगित गर्दै महरले उक्त धारणा राखेका हुन् ।

त्यसैले जुनसुकै कुनाकन्दराबाट थालिएको लोकतान्त्रिक व्यवस्था विरोधी ’कृत्रिम ब्ल्याकहोल’ निर्माण गर्ने दिवास्वप्न छोडेर लोकतान्त्रिक पद्धतिका माध्यमबाटै जनता र देशको समुन्नतिको महाअभियानमा लाग्ने प्रेरणा लोकतन्त्रवादी र सबैखाले अतिवादीहरूमा मिल्नुपर्ने उनले बताए ।

मुलुकको समृद्धिका लागि लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउनुपर्ने महरको भनाइ छ। नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति सच्चा सम्मान पनि लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेमात्रै हुने उनले बताए ।

’जनताको आन्दोलनले निरङ्कुश राणा शासनलाई घुँडा टेकाएको सात दशक पूरा भएको छ। एक सय चार वर्षसम्म राणाहरूको स्वेच्छाकारी शासनले जनताको हकहितलाई कुण्ठित पारेको थियो। मानव अधिकारको उपयोग गर्न पाएका थिएनन्। राणाहरूको निरङ्कुश शासनबाट दबिएका जनता बिस्तारै सङ्गठित भई प्रजातन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए । देशमा विद्यमान एकतन्त्रीय राणा शासनविरुद्ध सुरु भएको जनताको क्रान्तिले २००७ फागुन ७ गते सफलता पाएसँगै राणा शासनको अन्त्य गरी प्रजातन्त्रको घाम उदाएको थियो,’ उनले भने ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष संघीय राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा दिवस मनाउँदै आएको छ । आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्