
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद अरुण कुमार चौधरीले आफुमाथि राजनितिक प्रतिशोध साधेको आरोप लगाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार कारगारमुक्त भएका सांसद चौधरीले पत्रकारसँग कुरा गर्दै आफुमाथि प्रतिशोध साधेको बताएका हुन् ।
गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीलाई ट्याक्टर जलाएको आरोपमा ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
उनीमाथि ३ भदौमा २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा सो सजाय सुनाइएको थियो । तर, प्रहरीको फरार सूचीमा रहँदै आएका चौधरी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।
१८ दिन कारागार बसेर रिहा भएकाले चौधरीलाई नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् ।














