काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुलुकका लागि नै घाँडो भएको बताएका छन् । उनले रास्वपा पदका लागि आशक्ति भएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार कीर्तिपुरस्थित अनेरास्ववियूको दोस्रो स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘रास्वपा के के नै गरौंला भनेर आएको थियो । तर, सो पार्टी पदको आशक्तिबाहेक अरु केही देखिएन । अहिले मुलककै लागि घाँडो भएको छ ।’
अध्यक्ष नेपालले अहिले फेरि मुलुकमा मण्डलेहरु जाग्न लागेको समेत बताए । केही दिनअघि दुर्गा प्रसाइँले मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र र उनका परिवारलाई सहभागी गराएर गरेको कार्यक्रलाई लक्षित गर्दै अध्यक्ष नेपालले ‘अहिले फेरि मण्डलेहरु जाग्न थालेको छ । मेचीको पुलमा उभिएर गरेको कुरा देख्नु भयो तपाईहरुले । मण्डलेहरुको रोग एमालेभित्र घुसेको छ ।’
उनले थपे, ‘प्रसाइँ एमालेमा सम्मानपूर्वक बसिरहेकै छ । त्यो भनेको चाँही कम्युनिष्ट पार्टीको निम्ति जालमर्दो कुरा हो । कतै त्यो कम्युनिष्ट पार्टीले यस्ता कुराहरुलाई पनि प्रोत्साहन दिइरहेको त छैन ? शंका खडा हुने परिस्थिति बनेको छ ।’














