काठमाडौं, ३ कात्तिक ।
ज्यान मुद्दामा अदालतबाट पक्राउ पूर्जी जारी भएका नेकपाका सांसद पार्वत गुरुङ अदालतमा उपस्थित भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलेको थियो ।
गुरुङमाथि लागेको अभियोगबारे अदालतमा आजै बयान हुने भएको छ। अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो। तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतको सात नम्बर इजलासमा आजै बयान हुने भएको छ। दोलखाकै तत्कालिन माओवादी कार्यकर्ता विश्वध्वज खड्काले जाहेरी मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो। यो घटनामा आरोप प्रमाणित भएमा गुरुङलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। २०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। सांसद गुरुङले पनि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन्।
उनको बयानपछि अदालतले थुनामा पठाउने वा साधरण तारेख÷धरौटीमा छाड्ने आदेश दिने छ ।