हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक महिला घाइते भएका छन् ।
मनहरी गाउँपालिका–४ स्थित गोलघरमा हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया राधादेवी अधिकारी घाइते भएका हुन् । अधिकारीलाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको छ ।

आइतबार साँझ गाउँ पसेको जंगली हात्तीले आतंक मच्चाइरहेको स्थानीयहरूको भनाइ छ । हात्तीको आक्रमणबाट महिला घाइते भएपछि आक्रोशित स्थानीयले सैनिक पोस्टमा तोडफोड र आगजनी गरेका छन्।
आक्रोशित स्थानीयले मनहरी–३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा तोडफोड गरेका हुन्। स्थानीयले निकुञ्जको ना १ झ ९८८ नम्बरको जिप तोडफोड गरेका छन्।
केही दिनअघिदेखि निकुञ्ज क्षेत्रको जंगली हात्तीले गाउँमा आतंक मच्चाउँदा समेत नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोशित बनेका स्थानीयहरूले जिप तोडफोड गरेका हुन् । हात्तीले गहुँ बाली, आलु‚ काउलीलगायत तरकारी खेतीसमेत नष्ट गर्दै आएको छ।














