Logo
Logo

‘ज्ञानेन्द्रको अभिव्यक्ति लोकतान्त्रिक गणतन्त्रविरूद्ध छ’


1.4k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्ति ‘असंवैधानिक अभिव्यक्ति’ रहेको भन्दै नेकपा एकीकृत समाजवादीले भत्सर्ना गरेको छ । 

अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्य प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘यो वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरूद्धको असंवैधानिक र अनधिकृत वक्तव्य हो ।’

जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोही पनि ‘श्री ५ महाराजधिराज’ नरहेको तथा सम्पूर्ण नेपाली सामान्य नागरिक भइसकेको व्यहोरा सर्वविदितै रहेको भन्दै एकीकृत समाजवादीले उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूप्रति लगाइएको लाच्छना आपत्तिजनक रहेको बताएको छ । 

एमाले नेता दुर्गा प्रसाईँले झापाबाट गणतन्त्र विरोध अभियान सुरु गरेको र उक्त अभियानको उद्घाटन पूर्वराजाले गरेको भन्दै एकीकृत समाजवादीले गम्भीर र चिन्तित बनाएको समेत उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ– ‘केहि दिन अगाडि झापाबाट सुरु भएको एउटा गणतन्त्र विरोधी अभियानको उद्घाटन गरेका ज्ञानेन्द्र शाहले विगतमा राजतन्त्रले पटक–पटक जनताका अधिकारमाथि धावा बोलेको प्रसङ्गलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्थाविरुद्ध बोल्नु सरासर गलत कुरा हो । यसले मुलुकको अग्रगमन र प्रगति चाहनेहरूलाई गम्भीर र चिन्तित बनाउनु स्वाभाविक छ ।’

एकीकृत समाजवादीले विज्ञप्तिमार्फत गणतन्त्र विरोधी गतिविधिको प्रतिवाद गर्न आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्