काठमाडौं, ४ कात्तिक ।
बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएपछि प्रहरीले मुद्दा दायर गरिएको छ । पीडित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबर्जस्तीकरणी प्रयासको कल्पना पनि गर्न नसक्ने भन्दै उनले इन्कारी बयान दिएका छन् । महिलासँग आफ्नो पुरानो चिनजान भएको र घटना भएको दिन आफू घरभित्र प्रवेश नगरेको महराको भनाइ छ ।
घटना भएको दिन आफू महिला बसेको घर पर नै रहेर फोन गरेको, तर उनले रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको महराले बयान दिएका छन् । उनले केही विधेयकप्रति असन्तुष्टि जनाएकाहरूले नै आफूलाई झुटो आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । महराले आफू महिलाको घर नै नगएकाले घटनास्थलमा भेटिएका रक्सी, जुत्ताको तलुवा र चस्मा आफ्नो नभएको दाबी गरेका छन् । कुटपिटका कुरा निराधार र कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । चस्माबारे सोधिएको प्रश्नमा महराले लगाइरहेको चस्मा देखाउँदै भने, ‘मेरो चस्मा त यही हो लगाइरहेकै छु ।’
जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार महरासँग लिने बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ । सरकारी वकिलले महरासँग बयान लिने काम सकिए पनि अनुसन्धानका अन्य काम बाँकी रहेको भन्दै सात दिनको समय माग गरेको थियो । तर, अदालतले भने पाँच दिनको मात्रै म्याद थप गर्न अनुमति दियो । शनिबारबाट लागू हुने गरी पाँच दिनको म्याद थपको अनुमति दिएको अदालतको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । महरालाई अनुसन्धान गर्न पहिलोपटक दिएको १३ दिनको समयावधि शनिबार सकिएको थियो ।
छुट्ने सम्भावना
पीडित भनिएकी महिलाले प्रहरीसमक्ष दिएको किटानी जाहेरीविरूद्ध जिल्ला अदालतमै पुगेर लिखित निवेदन दिएकी छिन् । उनले सोधपुछका लागि भनेर बोलाएको प्रहरीले नौ घन्टासम्म बन्धक बनाएर शारीरिक र मनोवैज्ञानिक दबाब दिएर करणी प्रयास गरेको निवेदन दर्ता गराएको भन्दै आइतबार अदालतमा आफँै उपस्थित भएर लिखित निवेदन दिएकी छिन् ।
‘पीडितले नै हुलाकमार्फत आफूले पठाएको निवेदन प्रहरीले दर्ता गर्न नमानेको भन्दै लिखित निवेदन लिएर आज अदालतसमक्ष आएकी हुन् । इजलासले मिसिलमा राख्नु भन्ने आदेश दिएकाले राखिएको हो । त्यो निवेदन मान्ने नमान्ने भन्ने कुरा पछि अदालतले निर्णय गर्छ,’ अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने । आफू धेरै बोल्न नसक्ने भन्दै महिलाले आफ्ना अन्य उजुरी झुटो भएको भन्दै इजलाससमक्ष पेस गरेकी थिइन् ।
उनले महरा आफ्नो घर नै नआएको निवेदन अदालतसमक्ष प्रस्तुत गरेकी छिन् । १२ असोजमा महरा आफ्नो घरमा नआएको र १५ असोजमा प्रहरीसमक्ष सत्यतथ्य नै बताएको उनले उल्लेख गरेकी छिन् । उनले आफ्नो लिखित उजुरी प्रहरीले दर्ता गर्न नमानेकोसमेत आरोप लगाएकी छिन् । ‘मेरो शारीरिक अवस्थाको फाइदा उठाउँदै म एक्लै भएका वेला जबर्जस्ती कोठामा आई मेरो अन्तर्वार्ता लिएर मेरो अनुमतिविना सामाजिक सञ्जालमा हाली मेरो साथै उच्च ओहोदाको व्यक्तिको बेइज्जत गर्ने अनावश्यक घटनालाई जोडी पारिवारिक विखण्डन गराइयो,’ उनले भनेकी छिन् । यो निवेदनले महरालाई अदालतबाट छुट्न सहज भएको छ ।