काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन् । यूएईमा हुन लागेको आईसीसी विश्वकप लिग शृङ्खलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले सन्दीपको स्थान अन्य बलर तथा स्पिनरले लिनुपर्ने बताए । उनले सन्दीप टोलीको महत्त्वपूर्ण बलर भएको र चार खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको बताए ।
सन्दीपको अनुपस्थितिमा टोलीलाई धेरै खाँचो पर्ने तर उनको स्थानलाई अन्य खेलाडीले लिनुपर्ने बताए । नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार यूएई भ्रमण गर्दै छ । यूएई भ्रमणको क्रममा नेपालले आयोजक यूएई र पपुवान्युगिनीसँगै दुई खेलको क्रिकोणात्मक शृङ्खला खेल्ने तालिका रहेको छ ।
नाबालिक बलात्कारको आरोप लागेको सन्दीपलाई अदालतले विदेश जान रोक लगाएको छ ।














