Logo
Logo

एमाले प्रतिगमनको उद्देश्यबाट नहटेकाले रामचन्द्र पौडेललाई समर्थन : जनमोर्चा


1k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले अझै प्रतिगमनको उद्देश्यबाट पछि नहटेकाले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निर्णय गरेको बताएका हुन ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ । अहिले पनि नेकपा एमाले नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन । विगतमा २/२ पटक संसद भङ्ग गरेर, ९/९ महिनासम्म संसदलाई चल्न नदिएर, जनताका आवाजलाई संसदमा उठाउनबाट सांसदहरुलाई बञ्चित गरेको कुरा सबैको अगाडि जगजाहेर छ ।’

एमालेले प्रतिनिधिसभा संस्था नभएर प्रधानमन्त्रीको कठपुतली संस्था भएको र प्रधानमन्त्रीले चाहेका बखत कुनैपनि बेला भङ्ग गर्न सकिन्छ भन्ने मान्यताबाट पछि नहटेको बताएका छन् ।

‘एमालेको उद्देश्य राष्ट्रपति संस्थालाई आफ्नो छुद्र राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने गुरु योजना रहेको छ । विगतमा पनि एमालेले राष्ट्रपति जस्तो सम्मानित र उच्च संस्थालाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेर राष्ट्रपति संस्थालाई विवादित बनाएर त्यसको छविलाई धुमिल पारेको इतिहास सबैका अगाडि स्पष्ट नै छ’ उनले भनेका छन्, ‘त्यो स्थिति नदोहोरियोस् भन्नका लागि प्रतिगमनका विरुद्ध रहेका दलहरुमध्येबाट नै राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त हुन्थ्यो ।’

२५ फागुनमा हुने राष्ट्रपति चुनावमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्