Logo
Logo

इन्काउन्टरमा संलग्न इन्सपेक्टरसहित तीन प्रहरीलाई ज्यान मुद्दा चल्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ कात्तिक ।

राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष निकालेको छ । आयोगले गोली प्रहारमा संलग्न प्रहरीलाई थुनामा राखी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको हो ।


स्थलगत छानबिन र सम्बन्धित व्यक्तिहरूसँगको बयानपछि आयोगले यस्तो निर्णय गरेको हो । छानबिनका क्रममा पौडेललाई नियन्त्रणमा लिएर नौ गोली हानी हत्या गरिएको आयोगले जनाएको छ । गोली प्रहारमा संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । घटनामा दोहोरो मुठभेड नभएको र आत्मरक्षाका लागि गोली चलाउनुपर्ने अवस्थासमेत नरहेकोमा उनीहरूले पौडेललाई नियन्त्रणमा लिई नौ गोली हानेर हत्या गरेको आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले बताए ।

‘..प्रहरी कारबाहीमा मृत्यु भएको घटनामा प्रहरी प्रधान कार्यालय, नक्सालको प्रत्यक्ष निर्देशनमा खटिएका २ नम्बर प्रदेश प्रहरी कार्यालयका समन्वयमा समेत परिचालित भएका प्रहरीले निजलाई नियन्त्रणमा लिएपश्चात् अनावश्यक रूपमा बल प्रयोग गरी नौ गोली हानी मारिएको, प्रहरीले आत्मरक्षा र दोहोरो भिडन्त भनी दाबी गरेकोमा दोहोरो भिडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति, संकलित प्रमाणसमेतबाट निजलाई नियन्त्रणमा लिई मारिएको अनुसन्धानबाट देखियो,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

गत ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्देही जंगलको एकान्तमा पौडेलको गोली हानी हत्या भएको थियो । गोली प्रहारमा संलग्न इन्स्पेक्टरसहित तीनजना प्रहरी प्रधान कार्यालयबाट खटिएका थिए । प्रहरी महानिरीक्षकको प्रत्यक्षमातहतमा रहने गरी उनीहरू खटिएका थिए । आयोगसँगको बयानमा प्रहरी महानिरीक्षक खनालकै निर्देशनमा आफूहरू सो ‘इन्काउन्टर’ मा खटिएको बयान दिएका थिए । आयोगले आइजिपीको नाम उल्लेख नगरी निर्देशन दिनेलाई कारबाही गर्न विज्ञप्तिमा भनेको छ । आयोगका एक अधिकारीले आइजिपी र विशेष ब्युरो उच्च अधिकारीको समेत यसमा हात देखिएकाले उनीहरूलाई समेत कारबाही गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । केही प्रहरीले आफूहरू विशेष ब्युरोका डिआइजीको निर्देशनमा खटिएको बताएका छन् ।

मुचुल्का र शव परीक्षणमा समेत त्रुटि
‘इन्काउन्टर’ पछि घटनास्थलको मुचुल्काका लागि स्थानीय प्रहरी खटिएको थियो । घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्काको क्रममा समेत त्रुटि गरेको भन्दै आयोगले लालबन्दीका तत्कालीन इन्स्पेक्टर किरणकुमार न्यौपाने र सइ सूर्यकुमार कार्कीलाई विभागीय कारबाहीस्वरूप सचेत गराउन भनिएको छ । शव परीक्षणमा गल्ती गरेको भन्दै आयोगले जिल्ला अस्पताल सर्लाहीका तत्कालीन चिकित्सक डा.वीरेन्द्रकुमार यादवलाई समेत कारबाही गर्न सिफारिस गरिएको आयोगका सचिव भट्टराईले जनाएका छन् । शव परीक्षणमा न्यूनतम मापदण्डसमेत पूरा नगरेको आयोगले जनाएको छ । आयोगले देशभरिका अस्पतालमा क्यामेरा, पानी, बिजुली, एक्सरे मेसिन, शव सुरक्षामा आवश्यक रासायनिक पदार्थको व्यवस्था गर्न निर्देशन दिएको छ । साथै, शव परीक्षण गरिने प्रत्येक अस्पतालमा कम्तीमा एकजना प्राविधिक र तालिम प्राप्त फरेन्सिक विशेषज्ञको व्यवस्था गर्न भनिएको छ ।

आयोगका सदस्य गोविन्द पौडेलले यससम्बन्धी नौ पाने आदेश जारी गरेका छन् । सरकारलाई गरेका आठ सिफारिसमध्ये पहिलो बुँदामा भनिएको छ, ‘घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारीहरू, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरूमाथि समेत अनुसन्धान गरी कानुनको दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्ने ।’ इन्काउन्टरमा खटिएका प्रहरीबारे जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयलाई समेत जानकारी नभएको आयोगको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्