
काठमाडौं । सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन् । गत ५ माघमा सभामुख नियुक्त भएपनि सरकारी निवास नहुँदा लोकन्थलीस्थित नीजि घरमा बस्दै आएका उनले केही दिनभित्रै बालुवाटार सर्ने तयारी गरेका हुन् ।
गत सोमबार बसेको मन्त्रिपपरिषद बैठकले हाल राष्ट्रियसभा अध्यक्ष बसिरहेको निवास खालि गराई सभामुखलाई त्यहाँ ठाउँ दिने निर्णय गरेको थियो । यसअघि सभामुख घिमिरेले बालुवाटारको निवास नमिलेसम्म सरकारी निवासमा नजाने अडान लिएका थिए ।
घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले आवश्यक प्रक्रिया पूरा गरेर चाँडै नै सभामुख बालुवाटारस्थित सरकारी निवासमा सर्ने जानकारी दिए । सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् ।
क्याविनेटको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँबाट बाहिर जानेछन् । तर, उनी पुरानै आफ्नो भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लेनचौरस्थित निवासमा सर्नेछन्, त्यो भने निक्यौल भईसकेको छैन् ।










