काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्न समूह बनाउने कामले समाज नै विभाजित पार्न सक्ने बताए ।

व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्न दबाब समूह बनाई कालोमोसो चल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना समेत नगर्न उनले आग्रह गरे ।
‘कर्जा तिर्दिनँ भनेर परिकल्पनासमेत नगर्नू’ मिश्रले भने, ‘कर्जा नतिरी सुखै छेन । दिइएको कर्जा रकम नेपाली दाजुभाइ दिदीबहिनीहरुले बैंकमा राखेको पैसा हो ।’ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरुलाई कसैले प्रोत्साहन दिन नहुने उनको भनाइ छ ।
‘कर्जा दिन ढिला हुनसक्छ । त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थासँग छलफल गरी लिलामी नीतिगत परिवर्तन गरी रोक्न सक्छ’ उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउनेवित्तिकै राष्ट्र बैंकमा गुनासो गर्नुभए तत्काल कारबाही गर्छ ।’











