काठमाडौं, ७ कात्तिक
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको तिहार पनि प्रहरी हिरासतमै बित्ने भएको छ । तिहारअघि उनो मुद्दा अदालत नपुग्ने भएको छ ।
महरालाई म्याद थप गर्न बिहीबार जिल्ला अदालत लगिएको छ । शुक्रबारदेखि बन्द हुने अदालत तिहार पछि मात्र खुल्ने छ । जसकारण अब तिहारपछि मात्र मुद्दा अदालत जाने भएको छ । बयान सकिएपछि रिपोर्टहरु आउन समय लाग्ने भएकाले उनको मुद्दा बुझाउन ढिला भएको हो ।
उच्च रक्तचापका बिरामी महरा नर्भिक अस्पतालमा रहँदै आएका छन् । महराको दशैं पनि प्रहरी हिरासतमै बितेको थियो । दशैंको अष्टमीको दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो ।