काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधनप्रति पार्टी दुःख व्यक्त गरेको छ । एकीकृत समाजवादीले आइतबार शोक वक्तव्य जारी गर्दै पार्टीको इन्जिनियरिङ विभागको इन्चार्जसमेत रहेका उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको हो ।

शुक्रबार दिउँसो उपाध्याय काठमाडौंको शंकमुलस्थित छैटौं तलाको रहेको एक कफी क्याफेबाट खसेर निधन भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज क. सरोज उपाध्यायको ०७९ फागुन २० गते दिउँसो दुर्घटनामा परी आकस्मिक निधन भएकोमा हाम्रो पार्टी अत्यन्त मर्माहित भएको छ ।’
नेता उपाध्यायले पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै उनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको एकीकृत समाजवादीले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेड उपाध्यायको निधनले पार्टीलाई अपुरणीय क्षति भएको छ । यस दुखद घडीमा कमरेड उपाध्यायप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ र हाम्रो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।’
साथै, शोकको यस घडीमा शोकलाई शक्तिमा बदलेर पार्टी निर्माणमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक शुभचिन्तकहरुमा अनुरोध गरेको छ ।
दिवंगत उपाध्यायको अन्त्येष्टि अगाडि पार्थिव शरीर श्रद्धाञ्जलीका लागि २२ गते सोमबार दिनको १ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कायालय आलोकनगरमा राखिने जनाएको छ ।










