काठमाडौं । सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ । शनिबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मान्छे नै नबस्ने माथिल्लो मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै अभिव्यक्तिपछि आइतबार सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जार्दै स्पष्टीकरण दिएको हो ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासलाई पत्र लेखेको जानकारी भएको र उक्त विषयमा के कसो भएको हो भन्नेबारे छानबिन गरिने सरकारले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भनी सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल सरकारको धारणा स्पष्ट गर्न चाहन्छौं । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’
परराष्ट्र नीतिमाथि आँच पु¥याउने गरी अभिव्यक्ति आएको भन्दै सरकारले दुःख व्यक्त गरेको छ । ‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ’ विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्र नीतिमाथि आँच पु¥याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।’
मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रियहित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको एवं असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको सरकारले प्रस्ट पारेको छ ।












