काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा, बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहूती), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि एक ठाउँमा उभिएका माओवादी नेताहरु सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्नेबारे छलफल गरिरहेका छन् । आजको बैठकमा पनि त्यसै विषयमा छलफल हुने बताइएको छ ।
यसअघि आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले पनि विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका थिए ।










