काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । प्रवक्ता मोहन श्रेष्ठले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए ।
राष्ट्रपति निर्वाचनमा के गर्ने भन्नेबारे अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति बैठकमा नेताहरूको धारणा लिने तयारी गरेका छन् ।
राप्रपामा राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने र मतदान गर्न नहुने भन्नेमा नेताहरू विभाजित छन् । आफूहरू ‘राजावादी’ भएकोले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने तर्कसमेत केही नेताले उठाउने गरेका छन् ।
राप्रपा राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसैको पनि प्रस्तावक र समर्थक बसेको छैन । गत फागुन १३ गते राष्ट्रपतिका दुई उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।
राष्ट्रपतिका उम्मेदवारहरू नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राप्रपा कार्यालयमै पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । त्यो बेला राप्रपाले पार्टी बैठक बस्ने र निर्णय लिने जवाफ उम्मेदवारहरूलाई दिएको थियो ।
बिहीबार (फागुन २५ गते) राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । मतदान हुनुभन्दा एक दिन पहिले राष्ट्रपति चुनावबारे निर्णय लिन राप्रपाले बैठक राखेको छ ।










