Logo
Logo
कला

‘विस्तारै-विस्तारै अगाडि बढ्दै छु’



गायिका सुशीला गौतमले हालैमात्र पञ्चेबाजामा ‘घन्काउँदै बाजा’ बोलको गीत ल्याएकी छन् । जुन गीतमा सुशीलाकै शब्द र संगीत छ । करिब १२ वर्षदेखि नेपाली गीतसंगीत क्षेत्रमा मिहिनत गरिरहेकी सुशीला भन्छिन्, ‘संगीतयात्रा मेरो लागि अनन्त छ किनकि, अहिलेसम्म गीतसंगीतको विकल्प खोज्नुपरेको छैन ।’ लोकदोहोरी र तीज गीतका लागि चर्चित सुशीलाले हालसम्म तीन दर्जनभन्दा बढी गीत गाइसकेकी छन् ।

गुल्मीमा जन्मेर बुटवलमा हुर्कीबढेकी सुशीलाले अहिले काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी छन् । सानैदेखिको रहर र इच्छाले गायन अँगालेकी सुशीला भन्छिन्, ‘विस्तारै विस्तारै मेरो संगीतयात्रा अगाडि बढिरहेको छ । मलाई ह्वात चुचुरोमा पुग्न हतार पनि छैन । उनका ‘माइतीको माया’, ‘माली गाई भीरमा’, ‘जवानीले ढुलुमुल’, ‘पाहुना’जस्ता दर्जन गीत चर्चित छन् । यिनै गायिका सुशीला गौतमसँग एमपी सुब्बाको जम्काभेट :

संगीतयात्रा कसरी अगाडि बढ्दैछ ?
विस्तारै विस्तारै अगाडि बढिरहेकी छु । फुर्सदमा बस्नुपरेको छैन । गीतसंगीतमै अडिएकी छु । भर्खरैमात्र पञ्चेबाजामा ‘घन्काउँ पञ्चेबाजा’ बोलको गीत मेरो आफ्नै अफिसियल युट्य्ब च्यानलबाट रिलिज गरेकी छु । जसमा मेरो आफ्नै शब्द र संगीत छ ।

तपाइँले संगीत क्षेत्र नै किन रोज्नुभयो ?
धेरै कुरामा घरपरिवारको दवाव हुन्छ यो गर, त्यो गर भनेर । तर, गायन अर्थात कलाकार हुनु भनेर दवाव दिँदैनन् । म पनि आफ्नै रहर र इच्छाले गायनमा लागेकी हुँ ।

अहिले आफ्नो रहर पूरा भएको महशुस भइरहेको छ कि छैन ?
रहर त पहिलो गीत रेकर्ड गरेपछि नै पूरा भएको महशुस भयो । तर, गाउँदै जाँदा रहर झनै बढ्दै जाने रहेछ । दर्शक तथा श्रोताले रुचाउँने सिर्जना पस्कन सकौँ, गीतसंगीतमै टिकिरहन पाउँ भन्ने इच्छाहरु थपिँदै गएको छ ।

पहिलोपटक गाउनुभएको गीत याद छ ?
बाह्र वर्षअघि ‘बस्छु तिमीलाई कुरी’ बोलको गीत गाएकी थिएँ । त्यो नै मेरो पहिलो रेकर्डिङ भएको गीत हो । तर, त्यो गीत खाशै चलेन ।

त्यो समयमा एल्बम निकाल्नुभएन ?
मैले गायन अँगाल्दा क्योसेट बिक्रीको चलन नै हराइसकेको थियो । कतिपयले त्यो समयमा एल्बम त निकाल्थे, तर नामको लागि मात्र हुन्थ्यो । त्यसैले मैले आफ्नै लगानीमा पनि सिंगल ट्रयाकमा मात्र गाएँ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
मेरो आफ्नै तीन दर्जनभन्दा बढी पुग्यो । तीमध्ये कतिपय गीत दर्शक तथा श्रोतामाझ पुग्न सकेन होला । तर, संख्या बढाउने कामचाहिँ गरिरहेकी छु ।

तपाइँलाई चिनाउने गीत कुन हो ?
पछिल्लो समय त धेरै छन् । तर, गायिका सुशीला गौतम भनेर चिनाउने गीतचाहिँ ‘माली गाई भीरमा’ हो । यो गीत निकै लोकप्रिय बन्यो । अहिले पनि यो गीत श्रोता दर्शकले रुचाएका छन् । त्यसपछि तीज गीत ‘माइतीको माया’ पनि चर्चित बन्यो । पछिल्लो समय गाएको ‘भुँइ छोडेकी चरी’ र ‘पाहुना’ बोलको गीत पनि रुचाइएको छ । यिनै गीतले मलाई देशविदेशका स्टेजसम्म पु¥याएको छ ।

गीत गाउन विदेश कहाँ कहाँ पुग्नुभएको छ ?
अहिलेसम्म बेलायत, मस्को, मलेसियालगायतका देशमा सांगीतिक कार्यक्रम गरेकी छु । अहिले पनि केही देशमा कार्यक्रमका लागि कुरा भइरहेको छ । साथै, नेपालका अधिकांश मुख्य सहरमा कार्यक्रम गरेकी छु ।

संगीतयात्रामा यहाँसम्म पुग्न कतिको मिहिनेत गर्नुभयो ?
मिहिनत धेरै गरेकी छु । सुरुका दिनमा संघर्ष गर्न निकै गाह्रो भयो । बेला बेला थकाइ पनि लाग्थ्यो । त्यस्तो बेला गायन छाडेर कतै जाउँ जस्तो लाग्थ्यो । फेरि दर्शकको माया र हौसला पाउँदा उर्जा जाग्थ्यो । अहिले दर्शकको मायाको उर्जाले नै अगाडि बढिहरेकी छु ।

जीन्दगीभर साथ दिने मायाचाहिँ पाउनुभएको छ कि छैन ।
पाएको छैन नै भनौँ न । अहिलेसम्म सिंगल नै छु ।

अफेयर्स त होला नि ?
अफेयर्सको कुरा नखुलौँ । कतिपय कुराहरु समयलाई नै छोड्नुपर्छ ।

प्रेम प्रस्ताव कतिको आउँछ ?
कस्तो कुुरालाई प्रेम प्रस्ताव भन्ने ? इन्टरनेटको जमाना छ । म्यासेन्सर र कल आइरहेको हुन्छ । तर ती कुरालाई म मेरो गायनसँग जोडेर हेर्छु ।

गायनबाहेक अरु के गर्नुहुन्छ ?
केही गर्दिनँ, सुरुमा रहरले गायनमा लागेको भएपनि अहिले पेसाकै रुपमा अँगालेकी छु । अझ राम्रा राम्रा गीत पस्कने इच्छा छ ।

रहरले अँगालेका पेसाबाट खुसी हुनुहुन्छ ?
खुसी नै छु । आफ्नो इच्छाले रोजेको पेसा हो । त्यसैले कतिपय अप्ठ्यारारहरु पनि सजिलो गरी सहनु पर्दोरहेछ ।

प्रतिक्रिया दिनुहोस्