काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा गठबन्धनकै सहमतिमा उम्मेवारी दर्ता गराएको जनाएको छ । अध्यक्ष सिके राउतले सत्तारुढ दलहरुबीच शनिबार बिहान बसेको बैठकमा भएको सहमतिअनुसार उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएको दावी गरेका हुन् ।

अध्यक्ष राउतले सत्तारुढ गठबन्धनबीच साझा उम्मेदवारमा सहमति नभए आफ्नो पार्टीले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्नेसमेत बताए । जनमतबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् ।
अध्यक्ष राउतले ममताको उम्मेदवारी निर्वाचनको आयोगले भनेको संविधानको धारा ३८ (४) को मर्मअनुसार भएको बताए । उनले आयोगले नै महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनु भनेको बताउँदै भने, ‘हामीले गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गराएका हौँ । साझा उम्मेदवारको विषयमा हामी छलफलकै क्रममा रहेका छौँ । भोलिसम्म समय छ । हाम्रै उम्मेदवारको पक्षमा सहमति हुनेमा आशावादी छौँ ।’
साझा उम्मेदवारमा सहमति नभए आफूहरूले दर्ता गराएको मनोनयन फिर्ता नहुने स्पष्ट पारे । ‘हाम्रो उम्मेदवारलाई जनमत पार्टीसहित नागरिक उन्मुक्त र लोसपाले प्रस्ताव गरेको हो । हामीले यसअघि नै सहमति नभए मित्रवत् प्रतिस्पर्धा हुन्छ भनेर हाम्रो बटमलाइन स्पष्ट पार्टी सकेका छौँ’ उनले भने, ‘हाम्रो उम्मेदवार सशक्त हुनुहुन्छ, योग्य हुनुहुन्छ, कानुनी पृष्ठभूमिबाट हुनुहुन्छ । त्यसैले वहाँले नै जित्नु हुन्छ ।’ साझा उम्मेदवारमा सहमति नभएपनि गठबन्धन भने नफुट्ने उनले बताए ।











