कलैया । नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य दिनेश राईले संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन् ।
बाराको निजगढ नगरपालिका कमिटीको नगर स्तरीय कार्यालय स्थापनालाई शनिबार सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य राईले पार्टी एवं जनवर्गीय संगठनको सदस्यता वितरण, नविकरण, संगठनलाई पुनर्गठन गर्दै अगाडि बढनुपर्ने बताए ।

‘एमालेका केही हनुमान नेताहरुले एकीकृत समाजवादी र एमालेका बीचमा पार्टी एकीकरण हुन लागेको भन्ने हल्ला फिजाउँदैछन्, त्यो सत्य होइन’ राईले भने, ‘उनीहरुको झुठा कुरामा तपाईहरु नलाग्नुस, एकीकृत समाजवादी र एमालेका बीचमा कुनै एकता गर्ने कुरा छैन्, अहिले संगठन निर्माणको अभियानमा जुटनुस् ।’
पार्टी संगठन निर्माणमा जुटन आग्रह गर्दै उनले अबको चार बर्षपछि हुने पालिका निर्वाचनको अग्रिम तयारी अहिले देखी नै गर्नुपर्ने बताए । आगामी निर्वाचन केन्द्रीत संगठन निर्माण गर्दै अहिले देखी नै तयारीमा जुटनुपर्नेमा उनले जोड दिए ।
निजगढको लच्का स्थित निर्मला लामाको घरमा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गरिएको छ । सोही अवसरमा नगरकमिटी समेत विस्तार गरिएको छ ।
एकीकृत समाजवादीका नगरकमिटी अध्यक्षमा भिम सापकोटा उपाध्यक्षमा बिजय लामा, सचिवमा ध्रव धिताल सदस्यहरुमा सतल थिंङ लामा, लालमाया जिम्बा, सावित्री भण्डारी, निर्मला लामा, राजकुमार लामा, सुन्दर थिंङ लामा लगायतका रहेका छन् ।
बैठकले वडा कमिटी विस्तार, जनवर्गीय संगठनको निर्माण लगायतका कामलाई चैत मसान्तभित्र गर्ने निर्णय भएको छ । यसैगरी सदस्यता वितरण समेत गर्ने निर्णय भएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्धय विभा कार्की, हिमाल खरेल, मधेस प्रदेश कमिटीका सदस्य मानध्वज लामा, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, जिल्ला सचिवालय सदस्य सुभाष साह, जितपुरसिमरा नगरकमिटीका सदस्य निशान खनाल लगायतको विशेष सहभागिता रहेको थियो ।
पालिका कमिटीको अधिवेशनमा जुट्यो युवा संघ
यसैबीच एकीकृत समाजवादी निकटको युवा संघ नेपालको जिल्ला कमिटीको बैठक आज कलैया स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । संघका अध्यक्ष रामकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाको १६ वटै पालिकाहरुको कमिटी गठन गर्ने निर्णय गरेको छ ।
बैठकले बिभिन्न पालिकाको संयोजक एवं सहसंयोजक चयन गर्दै ११ चैतमा एकै दिन सबै नगरपालिकामा र १८ चैतमा सबै गाउँपालिकामा एकै दिन अधिवेशन गर्ने निर्णय गर्दै त्यसका लागि सहजकर्ताको जिम्मेवारी समेत तोकिएको कलैया नगरकमिटीका अध्यक्ष हरिओम साहले बताए ।
बैठकमा एकीकृत समाजवादीका जिल्ला सचिव बिक्रम ठाकुर, कलैया उपमहानगर कमिटीका अध्यक्ष अरुण खनाल, युवा इन्चार्ज एवं पार्टी जिल्ला सचिवालय सदस्य ध्रवु यादव, संघका केन्द्रीय सदस्य एवं बारा सहइन्चार्ज मनोज गुप्ता, अनिल भण्डारी लगायतको विशेष सहभागिता रहेको संघका स्थायी कमिटी सदस्य सुभाष साहले बताए ।











