काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्ता गठबन्धननिकट तीन विद्यार्थी संगठनबीच चुनावी तालमेल भएको छ ।
स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूबीच उपत्यकाको २८ क्याम्पसमा तालमेल भएको हो । उनीहरुबीच भागबण्डा समेत टुंगिएको छ ।

अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनका अनुसार त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच उपत्यकाका ठुला क्याम्पसहरुमा तालमेल गर्ने सहमति भएको हो ।
जसमा नेविसंघले १५ क्याम्पस, अखिल क्रान्तिकारीले १० क्याम्पस र नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति लिनेगरी तालमेल भएको छ ।
नेविसंघले त्रिचन्द्र, पद्दमकन्या, शंकरदेव, मिनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगंज, टिचिङ् नर्सिङ्, आयुर्वेद क्याम्पस, जन प्रशासन, सरस्वती, ग्रमिण आदर्श, कोटेश्वर,भक्तपुर बहुमुखी, केआईसी कालिमाटी रशिक्षा क्याम्पस थलीको सभापति पाएको छ ।
यस्तै, अनेरास्ववियु क्रान्तिकारीले थापाथली, सानोठीमी, पुल्चोक, नेपाल ल, पब्लिक युथ, विश्वभाषा, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसको सभापति पाएको छ ।
नेकपा एकीकृत समाजवाीनिकट अनेरास्ववियूले आरआर, महेन्द्ररत्न ताहाचल र बानेश्वर क्याम्पसको स्ववियु सभापति पाउनेगरी सहमति गरिएको छ ।
तीनै संगठनका अध्यक्ष दुजाङ शेर्पा, पन्चा सिंह र सुदेश पराजुलीले हस्ताक्षर गरेको सहमति पत्रमा सबै क्याम्पस कमिटीहरुमा सहमति कार्यान्वय गराउन समेत निर्देशन दिइएको छ ।












