काठमाडौं, १४ कात्तिक ।
भ्रमण वर्ष २०२० सफल बनाउन निजी क्षेत्र समेत एकजुट भएका छन् । भ्रमण वर्षका लागि होटल व्यवसायीले पर्यटकका लागि कोठमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने भएका छन्। होटल संघ नेपालको तिहार अघि बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको हो।

संघका उपाध्यक्ष विनायक शाहले भ्रमण वर्ष २०२०मा पर्यटकलाई कोठामा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिए।
’नेपाल भ्रमण वर्ष २०२० देशकै अभियान हो। अभियानलाई सार्थक बनाउन हामीले कोठा र खानामा छुट दिने निर्णय गरेका हौं,’ उनले बिजमाण्डूसँग भने। संघमा आवद्ध दुई हजार होटलमा २०२०देखि छुट कार्यान्वयनमा आउनेछ।
सरकारले २० लाख पर्यटक ल्याउने उदेश्यसहित सन् २०२० लाई भ्रमण वर्षा रुपमा मनाउँदै छ ।












