काठमाडौं, १५ कात्तिक ।
संसदकी कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध साढे सात वर्ष कैद सजाय माग दाबीसहित मुद्दा दायर भएको छ । पक्राउ परेको २६औँ दिनमा जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।
संघीय संसद्कै कर्मचारीमाथि गत १२ असोजमा बलात्कार प्रयास गरेको पर्याप्त प्रमाणहरू भेटिएकाले अधिकतम सजायको मागदाबी लिइएको छ । १८ वर्षभन्दा माथिको महिलामाथि बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने प्रावधान मुलुकी अपराध संहितामा छ ।
सरकारी उच्च ओहोदाको व्यक्तिको हकमा त्यसमा ५० प्रतिशत सजाय थप हुने भएकाले महराविरुद्ध साढे सात वर्ष कैद तथा पीडितलाई क्षतिपूर्तिको समेत माग गरिएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा महराविरुद्ध अधिकतम सजाय दाबी गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले बताए ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलामाथि जबर्जस्ती करणी गरे सात वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । महराले जबर्जस्ती करणी प्रयास मात्रै गरेकाले सो ऐनको दफा ३४(३) अनुसार आधा सजाय हुनेछ । त्यस्तै, महरा सार्वजनिक ओहोदामा रहेर कसुर गरेकाले थप सजायको माग गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५ (ङ) बमोजिम थप सजायको माग गरिएको हो । यस व्यवस्थाअनुसार महरालाई डेढी अर्थात् ५० प्रतिशत थप सजाय हुनेछ ।
महराविरुद्ध शुक्रबार थुनछेक आदेश हुन्छ । तीन वर्ष भन्दा धेरै कैद सजाय हुने मुद्दामा सामान्यतया पुर्पक्षका लागि पठाउने गरिन्छ । तर, यो घटनामा पीडितले आफुलाई दबाब दिएर उजुरी हाल्न लगाइएको भन्दै अदालतमा निवेदन दिएकी छिन् । त्यस्तै महराविरुद्ध बलियो प्रमाण पनि प्रहरीले फेला पार्न सकेको छैन । जसकारण उनी छुट्ने सम्भावना देखिएको छ ।
शुक्रबार थुनछेक आदेश हुने
अभियोगपत्र दायर भए पनि कार्यालय समय सकिएकाले न्यायाधीशले लिने बयान र त्यसपछि हुने थुनछेक बहस भने हुन सकेन । बयान र थुनछेक बहसका लागि शुक्रबार पुनः महरालाई जिल्ला अदालत पेस गरिने अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
गत १२ असोजमा काठमाडौंको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले १८ असोज (फूलपाती) मा प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन् । जाहेरीको भोलिपल्ट १९ असोजमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले उनलाई सभामुखनिवास बालुवाटारबाट पक्राउ गरेको थियो ।
प्रहरीले तिहारअघि नै अनुसन्धान प्रतिवेदन बुझाए पनि लगत्तै बिदा परेकाले कार्यालय खुलेको पहिलो दिन नै मुद्दा दायर भएको हो । शुक्रबार सुरुमा महराको बयान हुनेछ । त्यसपछि दुवै पक्षका वकिलको बहस सुनेपछि न्यायाधीशले महरालाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछन् ।
तीन वर्षभन्दा धेरै कैद सजाय हुने मुद्दामा अदालतले सामान्यतया थुनामा पठाउने गरेको छ । तर, घटनाकी पीडित महिलाले आफूलाई धम्की दिएर प्रहरीले महराविरुद्ध जाहेरी दिन लगाएको भनेर अदालतमा अर्काे निवेदन दिएकी थिइन् ।
फरेन्सिक रिपोर्ट मिलेन
प्रहरीले पीडित महिलाको कोठाबाट बरामद गरेको मदिराको बोतल तथा गिलासबाट ‘फिंगर प्रिन्ट’ लिएर परीक्षण गरेको थियो । तर, त्यससम्बन्धी परीक्षण महरासँग नमिलेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले बिहीबार दिउँसो मात्र रिपोर्ट सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
पीडित महिलाले महरा मदिराको बोतल लिएर आफ्नो डेरामा आएको र मदिरा पिउन कर गरेको भनेर जाहेरीमा उल्लेख गरेकी थिइन् । सोही आधारमा प्रहरीले महराको समेत फिंगर प्रिन्टको परीक्षण गरेको थियो । ‘फिंगर प्रिन्ट नेगेटिभ आएको छ,’ काठमाडौं परिसरका एक अधिकारीले भने, ‘बोतल र गिलास पछि अरूले छोएको अवस्थामा पनि यस्तो रिपोर्ट आउन सक्छ ।’
पीडित महिलाले १२ असोजको राति नै प्रहरीको कन्ट्रोलमा फोन गरेर आफूमाथि बलात्कार प्रयास भएको उजुरी गरेकी थिइन् । लगत्तै महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोली पीडित महिलाको सुविधानगरस्थित डेरामा पुगेको थियो । पीडित महिलाले श्रीमान्सँग सल्लाह गरेर उजुरी गर्न आउने बताएकी थिइन् । तर, त्यस दिन बेलुका प्रहरीले घटनास्थलका प्रमाणतर्फ चासो दिएन । भोलिपल्ट मिडियामा घटना सार्वजनिक भएपछि मात्र प्रहरी प्रमाण संकलनमा गएको थियो । जसकारण प्रमाणहरू दूषित भएको हुन सक्ने सरकारी वकिल कार्यालयका एक अधिकारी बताउँछन् ।
चस्मा महराकै भएको पुष्टि
घटनास्थलबाट बरामद भएको फुटेको चस्मा महराकै भएको पुष्टि प्रहरीले चस्मा पसलबाट समेत गराएको छ । महराले प्लस २.७५ पावरको चस्मा लगाउने गर्दथे । घटनास्थलमा बरामद चस्मा पनि सोही पावरको भएकाले सो चस्मा महराकै भएको पुष्टि हुने अभियोगपत्रमा उल्लेख छ । महराले चस्मा खरिद गरेको नागपोखरीस्थित डा. सन्दुक रुइतको ‘आई केयर क्लिनिक’ ले नै त्यसको पुष्टि गरिदिएको हो ।