Logo
Logo
साहित्य

प्रेम र घृणा



दुवैको स्पर्श त्यत्तिकै गहिरो हुन्छ
त्यत्तिकै गहिरोसँग मैले भोगेको छु
असीमित प्रेम
मुटु जोडिएको मान्छेले मात्र गर्न सक्छ
मुटु जोडिएकोले नै गर्ने हो असीमित घृणा पनि
जाडोमा लगलग कामेको मान्छेले स्पर्श गरेको न्यानो घामभन्दा गहिरो
अझ जम्न लागेको मुटुलाई
चलाउने ऊर्जाभन्दा गहिरो
त्यो गहिरो स्पर्श
मैले भोगेको छु
प्रेमको–
अनि घृणाको पनि
प्रेमको जति न्यानो
घृणाको त्यतिकै कठाङ्ग्रिँदो
एकभन्दा अर्कोको कम थिएन
प्रेमले बाँच्न सिकायो
घृणाले जीवन देखायो
दुवै त्यत्तिकै शक्तिशाली
प्रेमले मालाई मृत्युबाट खोसेर ल्यायो
घृणाले जिउने कला सिकायो
दुइटै त्यत्तिकै शक्तिशाली
त्यसैले मलाई घृणामा पनि विभेद छैन
म प्रेमलाई स्विकार्छु
तर घृणाप्रति पनि म अन्यथा लिन्न
आखिर बाँच्न सिकाएको त उसको घृणाले नै हो
जसरी एउटाको प्रेमले मालाई बचायो
हो, एउटाको अनन्त यात्राको प्रेमको स्पन्दन
त्यसले बचायो
त्यस्तै, अर्कोको घृणाको श्वास प्रश्वासले बाच्न सिकायो
त्यसैले प्रेमलाई जति हिफाजत गर्दछु
घृणालाई म बिल्कुल घृणा गर्दिन
म घृणालाई पनि जतन गर्दछु
होइन, घृणालाई पनि प्रेम गर्दछु
मेरो आफ्नै स्वार्थ छ त्यसमा
उसको म प्रतिको घृणालाई प्रेम नगर्दा
म आफै टुट्न सक्छु ।

दुना टपरी रेस्टुरेन्ट, खपौडी, फेवा ताल, पोखरा
समयः दिउँसो २ः १५ बजे
मितिः २५ फागुन २०७९

प्रतिक्रिया दिनुहोस्