Logo
Logo

जुवाखालबाट समातिएका प्रधानमन्त्री ओलीका एडिसी सेनाको हिरासतमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ कात्तिक
प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीमा एक सिनियर सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर(सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुशीबाट पक्राउ गरेको हो ।


महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुशीस्थित सोमबहादुर मगरको घरबाट पक्राउ गरेको हो । शाहीसहित आठ जनालाई एक लाख ५९ हजार तीन सय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई हिरासतमा राखी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए ।
जुवा खालबाट पक्राउ पर्नेहरुमा मेजर शाहीसहित घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखा जित गुरुङ, टोखाका मानकाजी गुरुङ र धर्म शाह, गोरखाका किरणजंग शाह र सुर्खेतका रिनज राणा छन् । म्यारिज खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रधानमन्त्रीको सुरक्षामा लेफ्टिनेन्ट कर्णेल(प्रमुख सेनानी)को नेतृत्वमा सैनिक टोली खटिएको हुन्छ । मेजर शाही शुक्रबार बिदामा थिए । बिदाको बेला उनी सधैंजसो जुवा खेल्ने गरेको अनुसन्धानमा खुलेको छ ।
शाहीलाई प्रहरीले सैनिक प्रहरीलाई बुझाएको छ । कर्तव्य ज्यान, लागूऔषध लगायत केही गम्भीर किसिमका अपराध बाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्