काठमाडौं, १८ कात्तिक ।
उपनिर्वाचनकालागि उम्मेदवार छनौटको विषया भक्तपुर नेकपामा विवाद भएको छ । स्थानीय नेता कार्यकर्ताको एक समूहले तत्काल निर्णय सच्याउन माग गर्दै सोमबार विहानै नेकपाको जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन् । सोमबार बिहानै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गर्न पुगेका चाँगुनारायण नगर क्षेत्रका नेता कार्यकर्ताले नाराबाजी गर्दै कार्यकर्ताको भावनालाई नसमेटेको आक्रोस पोखेका छन् ।
नेकपाको केन्द्रीय सचिावलय बैठकले आइतबार साँझ जिल्ला र प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाएको थियो । भक्तपुर क्षेत्र नं. १ प्रदेश कबाट नेकपाले देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी एकतापछि नेकपाको जिल्ला सचिव बनेका ढकाल पूर्व माओवादी हुन् ।
भक्तपुर जिल्ला कमिटीले यसअघि पनि प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेका ढकालसहित १८ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । प्रदेश कमिटीले प्रदेश सभा सदस्यको उम्मेदवारकालागि ढकालसहित रमेश बुढाथोकी, मोहनबिर श्रेष्ठ र नारायणी फुँयालको नाम सिफारिस गरेको थियो ।
यसअघि यो निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादी गठबन्धनबाट एमालेका हरिसरण लामिछाने निर्वाचित भएका थिए । त्यसवेला ढकालले गठबन्धनको विरोध गर्दै बागी उम्मेदवारी दिएका थिए । उनैलाई उम्मेदवार बनाएपछि विवाद भएको हो ।