Logo
Logo

लोकगायनकी रोशनी भन्छिन्- काठमाडौं टेकेदेखि निरन्तर गायनमै छु



काठमाडौं । लोकदोहोरी क्षेत्रका लागि चर्चित नाम हो रोशनी रसाइँली । करिब १४ वर्षदेखि गायनमा निरन्तर संघर्ष गर्दै आएकी रोशनी मिहिनेतले सफलता पाइने बताउँछिन् । उनी भन्छिन्, ‘गीतसंगीतमा संघर्ष र मिहिनत त अति नै चाहिन्छ, रहर र इच्छा भएपछि संघर्ष गर्नु पनि मज्जा आउँछ ।’

सानैदेखि गायनप्रति सौख राख्दै अएकी रोशनीले जब ‘काटी पलायो डाली’ बोलको लोकदोहोरी गाइन्, तब उनी गायिकाको रुपमा चिनिइन् । सन् २००९ मा रोशनीले आफ्नो पहिलो गीत ल्याएकी हुन । जुन गीतले रोशनीलाई गायिकाको रुपमा स्थापित गरायो । रोशनी भन्छिन्, ‘जुन युगल गीत थियो । तर, मलाई त्यही गीतले चिनायो ।’

रोशनी आफूलाई संघर्षरत गायिकाकै रुपमा लिन्छिन् । एक सयभन्दा बढी गीतमा स्वर दिइसकेकी उनी भन्छिन्, ‘म त अझै संघर्षरत नै छु ।’

गीतसंगीतमा साधना अपरिहार्य हुन्छ भन्ने उनको मान्यता छ । गायिका रोशनी भन्छिन्, ‘गायनमै करिअर खोज्जे हो भने मिहिनत पनि उत्तिकै आवश्यक छ । संघर्ष र मिहिनतविना सांगीतिक यात्रामा सफलता सम्भव हुन्न ।’ यस्तै मान्यताका कारण रोशनी आज नेपाली सांगीतिक क्षेत्रमा सदावहार गायिका बनेकी छन् ।

बागलुङमा जन्मेहुर्केकी रोशनी स्थानीयस्तरको सांगीतिक प्रतियोगिताहरुमा सहभागी जनाउँदा जनाउँदै गायनलाई करिअर बनाउने उद्देश्यसहित काठमाडौं छिरेकी हुन् । उनी भन्छिन्, ‘काठमाडौं टेकेदेखि निरन्तर गायनमै छु ।’

रोशनीले हालसम्म तीन दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । तीमध्ये ‘शेल्फी खिचिन्छ’, ‘तेतिस किलो सुन’, ‘मै राम्री छु रे’जस्ता उनका गीत चर्चित छन् । नेपाली गीतसंगीतमा योगदान पुर्याएवापत विभिन्न अवार्ड र सम्मानहरु समेत प्राप्त गरिसकेकी छन् ।

उनले श्रीलंकाको राजधानी कोलम्बोमा ‘आयोजित दक्षिण एशियाली साझेदारी शिखर सम्मेलन तथा व्यापार मेला–२०२१’मा उत्कृष्ट महिला गायिका (अन्तर्राष्ट्रिय अवार्ड) हासिल गरिन् ।

यस्तै, सन् २०२१ मा उनी ‘साली भेना’ गीतमार्फत उत्कृष्ट दोहोरी गायिकाको अवार्ड पाइन् । रोशनीले ‘स्टार म्युजिक एण्ड फिल्म अवार्ड’, ‘छायाँछवि तीज संगीत पुरस्कार’लगायतका अवार्ड र पुरस्कारबाट सम्मानीत भइसकेकी छन् । साथै, विभिन्न इभेन्टहरुमा रोशनीले निर्णायकको भूमिकासमेत निर्वाह गरेकी छन् । जसमा निम अवार्ड-२०२३’, ‘जिनियस म्युजिक अवार्ड–२०७८’लगायत रहेका छन् ।

गायन क्षेत्रमै लागेर रोशनी ‘गिनिज बुक’मा आफ्ना नाम समेत राख्न सफल भइसकेकी छन् । सन् २०१७ मा एउटा नेपाली गीतमा ३६५ जनाले स्वर दिएर गिनिज बुुकमा रेकर्ड राखेको थियो । जुन गीतमा गायियका रोशनीले पनि स्वर दिएकी छन् । उनीहरुलाई तत्कालीन राष्ट्रपति विद्या भण्डारीकाे प्रमुख आतिथ्यमा ‘गिनिज बुक अफ रेकर्डस्’को प्रमाणपत्र प्रदान गरिएको थियो ।

रोशनी गीतसंगीतबाट आफू खुसी रहेको बताउँछिन् । रोशनी भन्छिन्, ‘दर्शकरश्रोताको माया र नाम पाएकी छु । कलाकारको लागि दर्शकको माया, हौसला र नाम नै ठूलो कुरा हो । पैसा कमाउन वा नकमाउनु बेग्लै कुरा । तर, म खुसी छु ।’ उनी स्वरले साथ दिएसम्म गीतसंगीतमा रहने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्