Logo
Logo

आलमका छोरा प्रहरीकै इन्सपेक्टर ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ कात्तिक । ‘नेपाली हिटलर’को उपनामले चिनिन थालेका कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध सोमबार मुद्दा दायर भएको छ । १२ वर्षअघिको क्रुर हत्याकाण्डमा उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको हो ।

यो घटनाले जतिसुकै लुकाउन खोजेपनि अपराध लुक्दैन भन्ने सन्देश गएको छ । किनकि आलमले त्यसबेला रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपाने र सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामालाई हातमा लिएर घाइतेहरुलाई ईटा भट्टामा जलाएर बम बिष्फोटको घटना लुकाउने प्रयास गरेका थिए । आलम विरुद्ध पछि हुलाकमार्फत जाहेरी दर्ता भएपछि मात्र सत्ताको दुरुपयोग गरी मुद्दा नचल्ने निर्णय गराउन उनी सफल भएका थिए । तर, अहिले आएर उनी कानूनको फन्दामा परेका छन् ।

त्यतिखेरको त्यो क्रूर घटनाको वास्तविकता बाहिर आएपछि धैरेले उनलाई हिटलरभन्दा पनि निर्दयी व्यक्ति भनेका छन् । किनकी घाइतेहरुलाई सुई लगाएर बेहोस बनाई उनले भट्टामा हालेर जलाएका थिए । जिवित रहेसम्म जेल बस्नुपर्ने मागदाबीसहित उनीविरुद्ध मुद्दा दायर भएको छ ।

१२ वर्षअघिको घटना भएपनि प्रशस्त प्रमाणहरु जुटाएर प्रहरीले मुद्दा दायर गरेको थियो । ३५ भन्दा धेरै त साक्षी मात्र छन् । त्यतिबेलाका प्रहरी महानिरीक्षक ओमबिक्रम राणालाई नै साक्षी बनाइएको छ । आईजिपीलाई साक्षी बनाएर मुद्दा दायर गरिएको यो पहिलो घटना हो । अन्य पाँच जना प्रहरी अधिकारीहरुलाई समेत साक्षी बनाइएको छ ।

आलमले भने घटना नै नभएको भन्दै नेपाल प्रहरीले फसाएको दाबी गरेका छन् । रमाइलो पाटो के छ भने आलमका छोरा नै नेपाल प्रहरीका इन्सपेक्टर छन् । आलमका छोरा फिरदौसा आलम नेपाल प्रहरीका प्राविधिकतर्फका इन्सपेक्टर हुन् । उनी एमबीबीएस चिकित्सक हुन् । गत वर्ष मात्र उनी नेपाल प्रहरीमा भर्ना भएका थिए । हाल उनी नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् ।

बाबु पक्राउ परेको थाहा पाएलगत्तै बिदा लिएर उनी रौतहट गएका थिए । आलमको समर्थक तथा कांग्रेस कार्यकर्ताहरुले प्रहरीको विरोधमा प्रदर्शनसमेत गरे । तर, छोरा नै प्रहरीको इन्सपेक्टर भएकाले उनीहरुको आन्दोलन मत्थर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्