Logo
Logo

नवनियुक्त आइजिपीलाई घुमुवाको चुनौती


27.2k
Shares

जनकपुरधाम । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयमा काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा फिर्ता गर्न दिएको निर्देशन केही जिल्लाका एसपीले उनी त्यहाँ हुँदासम्म पनि पालना गरेनन् ।

मधेश प्रदेश प्रहरी कार्यालयको डीआइजीको कमाण्ड सम्हाल्नासाथ गएको माघमा कुँवरले मधेश प्रदेशमा बर्षौदेखि काजमा कार्यरत घुमुवालाई दरबन्दीमा फिर्ता गर्न निर्देशन दिएका थिए । तर धनुषा, रौतहट र बारा जस्ता जिल्लामा दसौं बर्षदेखि कार्यरत घुमुवालाई काजफिर्ता गर्न जिल्लाका एसपीले अटेर गरेका थिए । कुँवर शुक्रबार आइजीपी नियुक्ति भएका छन् ।

विगतमा उनले जिल्लामा कार्यरत त्यस्ता बदनाम घुमुवालाई काजफिर्ता गराउन दिएको निर्देशन भने अझै पनि जिल्लाका प्रहरी प्रमुखहरुले कार्यान्वयन गरेका छैनन् । तस्करदेखि नदी दोहन गर्नेहरुसँग साँठगाँठ भएका र हाकिमहरुलाई खुसी पार्दैआएका ती घुमुवाहरुलाई फिर्ता गर्न एसपीहरुले नै फिर्ता गर्नबाट रोकिरहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले कोशी प्रदेशको उदयपुरमा दरबन्दी भए पनि बर्षौदेखि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक(सई) बब्लु ठाकुरलाई दरबन्दीमा फिर्ता नपठाई राखेका छन् । उदयपुर दरबन्दी भएका ठाकुरलाई काजफिर्ता गर्न २ महिनाअघि तत्कालीन डीआइजी बसन्त कुँवर(हाल आइजीपी)ले दिएको निर्देशन पनि उनले पालना नगरी उनलाई जिल्लामै घुमुवाहरुको पनि इन्चार्ज बनाएर राखेका छन् ।

सई ठाकुुरले असईमा जागिर प्रवेश गरेदेखि धनुषा छाडेका छैनन् । धनुषाका एसपी विश्वराज खड्काले तस्कर र चेक बाउन्सदेखि विभिन्न केसमा डिल गर्ने र घुमुवा खटाउने अधिकार नै उनलाई दिएका छन् । मातहतका चौकीका सईसम्म इन्चार्ज हुने ठाउँबाट समेत मासिक उठाउने काम उनले गर्दैआएको आरोप छ ।

त्यसैगरी, रौतहट जिल्ला प्रहरी कार्यालयमा कार्यरत बरिष्ठ सई सुरेन्द्र साह सुडी पनि बर्षौदेखि काजमै कार्यरत छन् । बागमती प्रदेशको धादिङमा दरबन्दी भएका सुडीले रौतहट जिल्ला प्रहरी मातहतका सईसम्म दरबन्दी भएका चौकीमा सेटिङ मिलाएर खटाउने गरेका छन् । सिपाहीदेखि सईसम्म खटाउँदा उनले दररेट तोकेर लिने गरेको आरोप छ । बोर्डरका चौकीमा सिपाही हवल्दार खटाउँदा पनि उनले घुस लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्