Logo
Logo

प्रधानमन्त्रीको स्वास्थ्यमाथि सल्लाहकारको खेलवाड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ कात्तिक । पार्टी अध्यक्ष निर्वाचित भएपछि ०७१ साल साउन १ गते पार्टी मुख्यालय बल्खुमा आयोजित समारोहमा केपी शर्मा ओलीले भनेका थिए, ‘कमरेडहरू, आजको काम भोलि गरौँला भन्ने सुविधा मसँग छैन ।’ हुन पनि त्यसबखत नै उनको स्वास्थ्यअवस्था कमजोर थियो । तथापि, उनको काँधमा पार्टी नेतृत्वको जिम्मेवारी आएको थियो, जसलाई उनले कुशलतापूर्वक निभाए । संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्दै सात दशकदेखि नेपाली जनताले देखेको सपना पूरा गरे । उनै ओलीले संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीको डटेर सामना गर्दै सरकारको नेतृत्व गरे भने नेपाली जनताका मुर्छित सपनाहरूमा रक्तसञ्चार गराए । र, सुन्दर भविष्यको कल्पना साकार हुने आशा जगाए । फलस्वरूप संविधान कार्यान्वयनको क्रममा भएका तीनवटै तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेले नेपाली जनताबाट ऐतिहासिक जनमत प्राप्त ग¥यो । तत्कालीन नेकपा माओवादीसँग चुनावी तालमेल हुँदै पार्टी एकताको ऐतिहासिक कार्यभार पूरा गर्न पनि ओली सफल भए । अहिले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गर्दै आफूले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्न प्रधानमन्त्री ओली अहोरात्र खटिरहेका छन् ।

पार्टी अध्यक्षमा निर्वाचित भएका बखत उनको स्वास्थ्य जति प्रतिकूल थियो, केही समयपछि त्यसमा उल्लेख्य सुधार देखियो । स्वास्थ्यले साथ दिएजस्तै पार्टीभित्र र बाहिरको जनमतले पनि उनलाई साथ दियो । विपक्षी दलका कार्यकर्तामा समेत पूर्ण बहुमतको सरकारको नेतृत्व गर्न पाए ओलीले केही गर्छन् भन्ने विश्वास पलायो । त्यसको प्रमाण निर्वाचनका परिणामले देखायो । झन्डै साँढे पाँच वर्षको अवधिमा उनले सम्पन्न गरेका काम तथा निभाएका राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्वको सूची तयार पार्ने हो आश्चर्यचकित लाग्ने खालका छन् । पूर्णस्वस्थ अवस्थाको वयस्क व्यक्तिले पनि गर्न नभ्याउने कयौँ काम प्रतिकूल स्वास्थ्यबीचमै पनि उनले फत्ते गरेका छन् । ‘आजको काम भोलि गरौँला भन्ने सुविधा छैन’ भन्ने अठोट उनमा आज पनि देखिन्छ । त्यसैले लगातार दुई दिन मृगौलाको डायलासिस गराएर फर्किएको केही घण्टाभित्रै उनी दर्जनौँ काम सम्पन्न सक्षम भइरहेका छन् । यस्ता प्रधानमन्त्रीले पाँच वर्ष मुलुकको नेतृत्व गरेको हेर्न चाहने जनमत अहिले पनि लाखौँ छ । तर, यति क्रियाशील र ऊर्जाशील प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति भने उनको सचिवालय कत्ति पनि गम्भीर देखिँदैन ।

भदौ ५ देखि १८ गतेसम्म सिंगापुरमा उपचार गराउन गएका प्रधानमन्त्री त्यसयता सुस्ताएका छैनन् । लगतारको धपेडीको असर उनको स्वास्थ्यमा देखिन्छ । त्यसयता प्रधानमन्त्रीले विदेश यात्रा पनि गरेका छन् र स्वदेशका थुप्रै सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका छन् । पछिल्लो समय लक्ष्मीपूजाको दिन सिस्नुपानी नेपालले आयोजना गरेको देउसी सुन्न समेत प्रधानमन्त्री प्रज्ञाभवन पुगेका थिए । बाक्लो भेटघाट बन्द गर्न, धेरै मानिस सहभागी कार्यक्रममा नजान, दौडधूप नगर्न चिकित्सकहरूले बारम्बार सचेत गराए पनि प्रधानमन्त्रीको हकमा लागू भएको छैन । भेटघाट तथा सार्वजनिक कार्यक्रममा सहभागीको टुंगो प्रधानमन्त्रीको सचिवालयले लगाउँछ । तर, सचिवालय यस्ता भीड तथा धपेडीबाट हुने असरबाट प्रधानमन्त्रीलाई जोगाउन ध्यान दिइरहेको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति अबेरसम्म पनि सल्लाहकार टोलीले ओलीलाई घेर्ने गरेको छ । जसका कारण प्रधानमन्त्री निवासमै भए पनि आराम गर्न पाइरहेका छैनन् ।

बालुवाटार स्रोतका अनुसार निर्धारित समयमा खाना, औषधि र आराम प्रधानमन्त्रीले पाइरहेका छैनन् । ‘सल्लाहकारहरू विष्णु रिमाल, राजन भट्टराई जतिबेलै प्रधानमन्त्रीलाई घेरा हालेर बसेका हुन्छन् । मन्त्रीहरू युवराज खतिवडा, प्रदीप ज्ञवाली पनि त्यसमा मिसिन्छन्,’ बालुवाटार स्रोत भन्छ, ‘आराम गर्नुपर्ने प्रधानमन्त्रीसँग राति अबेरसम्म पनि उहाँहरू गफिएर बस्नुहुन्छ ।’ रिमाल, भट्टराईलगायतबाट जतिखेरै प्रधानमन्त्री घेरिए पनि कयौँ पटक प्रधानमन्त्रीले खाना र औषधि समयमा लिएका हुँदैनन् । स्रोतका अनुसार प्रधानमन्त्री स्वयंको लापरबाही र सल्लाहकार तथा केही मन्त्रीको चाकडीबाट प्रधानमन्त्रीपत्नी राधिका शाक्यसमेत आजित भइसकेकी छिन् ।

उपचार विधि अझै टुंगो लागेन

डायलासिसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे सोमबार पनि टुंगो लागेको छैन । अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् । प्रधानमन्त्रीसँग दोस्रो पटक मिर्गौलाप्रत्यारोपण गर्ने विकल्प पनि छ । तर, वृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलाइसिस सहज विकल्प हुने सुझाव प्रधानमन्त्रीलाई धेरैले दिइरहेका छन् । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले यसअघि उपचार गराइएको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालका डाक्टरसँग पनि परामर्श गरिरहेका छन् । यसले केही समयभित्रै प्रधानमन्त्री ओली थप उपचारका लागि सिंगापुर जाने सम्भावनाको संकेत पनि गरेको छ ।

आइतबार प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठकको बीचबाटै एक्स–रे गर्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज पुगेका थिए । प्रधानमन्त्री ओलीले यसअघि दुई पटकसम्म सिंगापुरको उक्त अस्पतालमा उपचार गराइसकेका छन् । पछिल्लो पटक भदौ ५ देखि १८ गतेसम्म उक्त अस्पतालमा प्लाज्माफेरिसस पद्धतिबाट प्रधानमन्त्री ओलीको शरीरको एन्टीबडी नष्ट गरिएको थियो । तर त्यसपश्चात् लगातारको धपेडीपछि प्रधानमन्त्रीको स्वास्थ्य पुनः कमजोर बनेको हो ।

उपचारसँगै आरामको खाँचो

स्वास्थ्यप्रतिकुलताका कारण प्रधानमन्त्री ओलीले तत्काल आफ्नो व्यस्तता घटाउनुपर्ने धेरैको सुझाब छ । नेकपाका स्थायी समितिका सदस्यहरूले दृष्टिसँग यस्तो धारणा व्यक्त गरेका छन् । पार्टीमा दुईजना अध्यक्ष रहेकाले पार्टीको नियमित कार्यसम्पादनको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिनु उपयुक्त हुने उनीहरूको भनाइ छ । ‘महत्वपूर्ण निर्णय गर्दा प्रचण्डसँग सरसल्लाह गर्ने र दैनिक भइपरी आउने काम गर्न प्रचण्डलाई जिम्मेवारी दिने विकल्प तत्काललाई उपयुक्त हुन्छ,’ एक स्थायी समिति सदस्यले भने । उसै पनि गत भदौमा सिंगापुर उपचारका लागि जानुअघि नै ओलीले प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिएका थिए । त्यसपछि प्रचण्डको अध्यक्षतामा एकपटक सचिवालय बैठकसमेत बसेको थियो । सो बैठकले नेताहरूको कार्यविभाजनलगायत पार्टी अनुशासनसम्बन्धी केही महत्वपूर्ण निर्णय गरेको थियो । तर, त्यसयता पुनः ओलीकै अध्यक्षतामा बैठक बसिरहेको छ । आइतबार र सोमबार पनि ओलीकै अध्यक्षतामा सचिवालय बैठक बसेको थियो । सो बैठकले सातवटै प्रदेशका प्रमुखलाई हटाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

पार्टीमा कम जिम्मेवारी लिनेजस्तै सरकार सञ्चालनमा पनि प्रधानमन्त्रीले आफ्नो धपेडी कम गर्नुपर्ने सुझाब नेताहरूको छ । त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारका सबै मन्त्रीलाई सक्रिय हुन दिने, सचिवालयको चुंगलबाट निकालेर मन्त्रीहरूलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउने, पार्टीको सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बढी क्रियाशील बनाई आफू मोनिटरिङमा मात्र संलग्न हुने विकल्प हुन सक्ने बताइन्छ । ‘प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा ध्यान नदिई अहिलेजस्तै बेवास्ता गरिरहने, सल्लाहकारहरूको घेरामा परिरहने हो भने नेपाली जनताका कयौँ सपनामाथि घात हुन सक्छ,’ प्रधानमन्त्रीको स्वास्थ्यप्रति चिन्तित एक नेताले भने, ‘नेपाली जनता ओलीले आफ्नो संकल्प पूरा गरेको हेर्न चाहन्छन् ।’

प्रतिक्रिया दिनुहोस्