Logo
Logo

सीईओविरुद्ध उजुरीको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ कात्तिक । बैंक तथा वित्तीय संस्थाहरूमा फेरी एकपटक प्रमुख कार्यकारी अधिकृतहरू फस्ने क्रम शुरु भएको छ । बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठपछि कर्जा प्रवाहमा देखिएको अनियमितताले नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई समेत अप्ठेरो पर्ने देखिएको छ । स्रोतकाअनुसार मेगा बैंकले शाह उक्त बैंकको सीईओ हुँदा भैरहवाको प्राईम रिडिमेवल राईस मिललाई गलत तवरले धितोभन्दा अधिक कर्जा प्रवाह गरेको देखिएको छ । उक्त राइस मिलले मेगा बैंकलाई बुझाउनुपर्ने कर्जाको साँवा तथा ब्याज रकम ताकेता गर्दा पनि नबुझाएपछि कर्जा स्वीकृतिको क्रममै अपचलनको उद्देश्य राखेर प्रवाह भएको आशंका गरिएको हो । स्रोतकाअनुसार उक्त राइस मिललाई प्रदान गरिएको कर्जा रकमलाई मेगा बैंकले शतप्रतिशत नोक्सानी ब्यहोरिसकेको छ ।

शाहले मेगाको सीईओ छँदै भैरहवा शाखाका प्रबन्धक र केन्द्रीय कार्यालयका एकजना कर्मचारीलाई मात्र उक्त कर्जा प्रवाहमा दोषी देखाएर बैंक सेवाबाट हट्न बाध्य बनाएका थिए । बैंक अफ काठमाडौंको कर्जा काण्डपछि अहिले मेगा बैंकले पनि उक्त कर्जा असुुलीको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गर्ने तयारी गरेको बुझिएको छ । प्रहरीमा उक्त कर्जाको सम्बन्धमा उजुरी परेको खण्डमा मेगा बैंकको कर्जा अपचलन काण्डमा हाल नबिल बैंकमा सीईओ रहेका अनिल केशरी शाहले समेत अजय श्रेष्ठको नियती भोग्नुपर्ने दिन आउन लागेको मेगाका कर्मचारी नै बताउँछन् । स्मरणरहोस्, नेपालको बैंकि¨ क्षेत्रमा शाह तिनै व्यक्ति हुन् जो आफूलाई व्यावसायिक बैंकर भन्दा बढी सेलिब्रेटी हुन र भन्न रुचाउँछन् । नबिल बैंकको सीईओ छाडेर मेगा बैंकको स्थापनाकालदेखि सीईओ बनेका शाहले मेगालाई ठूला होटलले झैं पाँच तारे बैंकको दर्जा दिएका थिए भने हलोदेखि हाइड्रोसम्म भन्ने बैंकको नारा बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्