पर्सा, २० कार्तिक । प्रहरीले अपहरणकारीमाथि गोली हानी अपहरित एक बालकलाई सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अपहरणकारीले काभ्रेको बनेपाबाट बालकको अपहरण गरी उनका बाबुसँग १२ लाख रुपैयाँ फिरौती रकम माग गरेका थिए । सो फिरौती रकम लिने क्रममा प्रहरीले कारबाही गरेको हो ।
प्रहरीले फिरौती रकम लिन आएका अपहरणकारीको घुँडाभन्दा मुनि गोली हानेको छ । घाइते अपहरणकारीलाई उपचारका लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
पर्साकै वीरगञ्ज महानगरपालिका–२५, सिर्सिया घर भई हाल बनेपा बस्दै आएका अम्जद खानका १४ वर्षीय छोरा अपहरणमा परेका थिए । उनलाई चिनेजानेकै मान्छेले प्रलोभनमा पारेर पर्सा पु-याएका थिए । अपहरणकारीले उनलाई भारतको सीमावर्ती क्षेत्र रक्सौल पु¥याएपछि फोनमार्फत फिरौती रकम मागेका थिए । प्रहरीको गोली लागेर घाइते अपहरणकारीको बयानका आधारमा प्रहरीले बालकलाई लुकाएर राखेको स्थान पत्ता लगाएको थियो ।












