
काठमाडौं, २० कार्तिक । निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचार संहिता विपरीत नरहेको स्पष्ट पारेका छन् । निर्वाचन आयोगमा बुधबार पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।
पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको बर्खास्ती र नियुक्ति गर्न नहुने भनेर निर्वाचन आचारसंहिताको बुँदामा उल्लेख नभएकाले आचारसंहिता उल्लंघन भयो भन्न नसकिने बताए ।
सरकारले केही दिनअघि सातै प्रदेशका प्रमुखहरु पदमुक्त गरेर नयाँ नियुक्ति गरेकामा निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको थियो ।
तर, आचारसंहितको कुनै पनि बुँदामा मन्त्रिपरिषद पुनर्गठन र प्रदेश प्रमुखहरुको नियुक्ति गर्न नहुने भन्ने उल्लेख नभएकाले आचारसंहिता विपरीत भन्न नमिल्ने आयोगले जनाएको छ । पौडेलले यसलाई सरकारमाथि नैतिक प्रश्नको रुपमा लिन सकिने भन्दै आयोगले गम्भिरतापूर्वक लिएको बताए ।












