Logo
Logo

काठमाडौंमा नेपाल-युरोपेली संघ संयुक्त आयोगको बैठक सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौँमा शुक्रबार बिहानदेखि शुरु भएको नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीलगायत । तस्बिर/रासस

काठमाडौं, २२ कार्तिक । नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि संघका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले संघको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघबीचको सम्बन्धका सबै पक्षबारे विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा व्यापार–वाणिज्यका साथै आर्थिक तथा विकास सहायता, संयुक्त लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, पर्यावरण, मानव संशाधन विकासका क्षेत्रमा संघद्वारा प्राप्त सहयोग अभिवृद्धिलगायत विषयमा पनि विचारविमर्श हुनेछ । बैठकमा नेपालको राजनीतिक स्थितिबारे पनि छलफल हुनेछ ।
संघले मानवीय सहायताका साथै युरोपेली लगानी बैंकमार्फत भौतिक पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आएको छ । एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका निम्ति उक्त बैंकले पाँच करोड ५० लाख युरो ऋण सहयोग गरेको छ । भूटानी शरणार्थीलाई खाद्य सहयोग तथा शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयमार्फत पनि सहयोग गर्दै आएको छ ।
हरेक दुई वर्षमा काठमाडौँ र ब्रसेल्समा पालैपालो उक्त बैठक हुँदै आएको छ । पारस्परिक लाभका विषयमा विचारविमर्श गर्न सन् १९८६ मा संयुक्त आयोग स्थापना भएको हो ।
नेपाल र युरोपेली संघबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता संघले नेपालको राजनीतिक एवं आर्थिक क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै आएको छ । नेपालको निर्यात प्रवद्र्धनका निम्ति संघले नेपाली उत्पादनलाई सन् २०१५ सम्मका लागि ‘ड्युटी फ्री, कोटा फ्री’ सुविधा प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्