Logo
Logo

संगठनमा सुधारका लागि उपस्थितीले मात्र हुँदैन, परिणाम चाहिन्छः आइजिपी अर्याल


693
Shares


काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका विषयमा केन्द्रीत भई बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम आयोजना गरेको छ । आईतबार र सोमबार संचालित कार्यक्रममा सीमा व्यवस्थापन र राजश्व संकलनमा गंम्भीर छलफल भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।


आईतबार कार्यक्रमको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन सुधार र आचरणमा गम्भिर हुनुपर्नेमा जोड दिए । ‘संगठनमा सुधारका लागि उपस्थितीले मात्र हुँदैन, परिणाम चाहिन्छ । नबुझे जस्तो गर्न छुट छैन परिवर्तन अपरिहार्य छ, परिवर्तन आफैबाट सुरु गर्न जरुरी छ ।’ हजारौँ सदस्यहरु रहेको एउटा सिंगो संगठनलाई कुनै व्यक्ति विशेषले मात्र सुधार गर्न सम्भव नरहेको बताउँदै सकारात्मक सोचका साथ शान्ति सुरक्षा, तालिम, सीमा, विपद् उद्धार, प्रशासन, बन्दोवस्ती लगायत राज्यले निर्दिष्ट गरेका म्याण्डेटहरुमा परिचालित हुनुपर्ने बताए । कार्यसम्पादनका क्रममा आईपरेका समस्याको पहिचान, सुधारका क्षेत्रहरु, मौजुदा संयन्त्र एवं परिपाटीमा गर्नुपर्ने परिमार्जनमा विश्लेषण तथा गहन अध्ययन र छलफल गरी समाधानको निकास र निचोड निकाल्न यो कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो ।


कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सबैको ध्यान संगठन सुधारमा केन्द्रित हुन जरुरी रहेको उल्लेख गरे । छलफल भएका विषयलाई विस्तारै कार्यान्वयनमा लैजान जरुरी रहेको तथा हाम्रो सोच उद्देश्य र सवल पक्षलाई अझै परिस्कृत गर्दै सिमित श्रोतसाधनको अधिकतम प्रयोग गरी गुणस्तरीय कार्य गर्न सकियो भने सानो कुराबाट सुधार गर्दै ठूलो सफलता हासिल गर्न सकिने बताए ।


सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले सशस्त्र प्रहरीलाई प्राप्त म्याण्डेट अनुसार सीमा क्षेत्रमा परिचालित हुँदा बढि चनाखो र आउन सक्ने चुनौतीको पूर्वानुमान गरी संवेदनशिल भई चुस्त र दुरुस्त ड्यूटिमा परिचालन हुनुपर्ने बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न निर्मम भई लाग्नुपर्ने बताउनुहुँदै राजश्व तथा भन्सारलाई सहयोग र अपराध नियन्त्रणमा अनुभूति हुने गरी कार्य गर्नुपर्ने बताए । कार्यक्रममा सीमावर्ती अपराध नियन्त्रण, सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने, अवैध निकासी पैठारी नियन्त्रणमा खेल्नुपर्ने भूमिका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।


सो विषयमा नम्बर १ बराह बाहिनी मुख्याल सुनसरी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपतिहरुले प्रस्तुतीकरण गरेका थिए । साथै संगठनको आगामी कार्यदिशा, वृत्तिबिकास र आगामी सुरक्षा चुनौतीका बारेमा पनि छलफल भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । कार्यक्रम मंगलबार समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्