Logo
Logo

उपनिर्वाचन-२०७६ : वाम तालमेल कांग्रेसलाई चुनौती


- दृष्टि न्युज/संवाददाता


बाग्लुङ, २२ कार्तिक । नेपाली कांग्रेससामु क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि कांग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो ।
सो चुनावमा कांग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए । घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो । उपचुनावमा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राजमोका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा छन् । कांग्रेसले अघिल्लो चुनावमा पराजित शेरचनलाई पुनः उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजमोको गठबन्धनले सबै क्षेत्रमा एकलौटी जितेको थियो । विसं २०७० को संविधानसभा सदस्यको दोस्रो चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको कांग्रेस वाम तालमेलकै कारण पराजित भएको थियो ।

२०७४ को चुनावपछि भने तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ । त्यो बेलाको तीनदलीय वाम गठबन्धन उपचुनावसम्म आइपुग्दा दुईमा झरेको छ । नेकपा र राजमोको केन्द्रीय नेतृत्वबीच उपचुनावमा पनि वाम तालमेललाई निरन्तरता दिने सहमति भएपछि उक्त क्षेत्र राजमोले पाएको हो ।
यो चुनावमा पनि परिचित प्रतिद्वन्द्वी वाम गठबन्धन र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । चुनाव जित्ने जिकिर भने दुवैतर्फका उम्मेदवार र नेताको छ । नेपाली काङ्ग्रेसका सभापति दीपेन्द्रबहादुर थापा यसपालिको वाम तालमेललाई ‘आत्मिय’ नभएको रूपमा अथ्र्याउँछन् ।
‘पहिले वाम तालमेल गरेका हुनाले उपचुनावमा पनि बाध्यता प¥यो होला’, सभापति थापाले भने, ‘उहाँहरुको एकता आत्मियखालको छैन, एकतर्फीजस्तो छ ।’ कांग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएकाले चुनाव जित्नेमा विश्वस्त छन् । ‘गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन’, उनले भने, ‘अहिले परिस्थिती फरक छ, हामी चुनाव जित्छौँ ।’

उनले पहिले चुनाव जितेका दल र उम्मदेवारले जनतामाझ गरेको वाचा पुरा गर्न नसकेको आरोपसमेत लगाए । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ ।
राजमाका जिल्ला अध्यक्ष अमर थापा भने अघिल्लो चुनावमा भन्दा बढी मतका साथ चुनाव जितिनेमा ढुक्क छन् । उनले भने, ‘कांग्रेसले जितिरहेको ठाउँ हो, जनमत पनि राम्रो थियो, सरकार पनि कांग्रेसकै थियो’ उनले भने, ‘त्यो परिस्थितिमा त काङ्ग्रेस ठूलो मतान्तरसहित चुनाव हा¥यो, अहिले कसरी जित्छ ? जित्दैन ।’
तीनै तहमा बलियो कम्युनिष्ट सरकार भएको, जनतामा आशा जागेको, विकास, निर्माणदेखि राष्ट्रिय मुद्दामा दरिलो अडान लिएका कारण आफ्नो उम्मेदवारले झन् बढी मत लिएर जित्ने अध्यक्ष थापाको ठोकुवा छ । उनले उम्मेदवारीलाई लिएर छिटपुट असन्तुष्टि देखिए पनि त्यो समाधान हुने बताए ।
सो क्षेत्रमा नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई अप्ठेरो परेको छ । ‘उहाँ पुरानो हाम्रै पार्टीको साथी हो, जिम्मेवार व्यक्ति कम्तीमा अर्को दललाई चुनाव जिताउन लाग्नुहुन्छ भन्ने लागेको छैन’, अध्यक्ष थापाले भने, ‘विश्वास छ उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्छ, त्यसमा नेकपाका साथीहरुले पहल गर्नुहुनेछ ।’
शेरमान तत्कालीन नेकपा (माआवोदी केन्द्र) मा आउनुपूर्व राष्ट्रिय जनमोर्चामा आवद्ध थिए । गएको स्थानीय तह चुनावमा उनी माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा चुनाव लडेका थिए । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उनको उम्मेदवारी फिर्ता हुने बताएका थिए ।
राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताए । ‘अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो स्रगठन पनि विस्तार भएको छ’, उनले भने, ‘सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।’ उनले चुनावी अभियानलाई पनि प्रभावकारी बनाइने उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस्