काठमाडौं, २४ कात्तिक ।
कांग्रेस नेता तथा सांसद मोहम्मद अफ्ताब आलमको निर्देशनमा १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ मा भएको बम विस्फोट र घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरिएको घटनामा आर्थिक चलखेल सुरु भएको छ । आर्थिक चलखेलपछि विस्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका भनिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी छिन् ।
पाँच कठ्ठा जग्गा र पाँच लाख नगद दिने प्रलोभनमा उनले त्यस्तो निवेदन दिएकी हुन् । तर, त्यससम्बन्धि कुनै आधार भने छैन ।
२३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा हिरासतमा रहेका आलमविरुद्ध अदालतमा थुनछेक बहस जारी रहेकै वेला अमना बयान फेर्दै अदालत पुगेकी हुन् । उनले बिहीबार पति ओसी अख्तरलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी थिइन् । तर, शुक्रबार भने अचानक जिल्ला अदालतमा बयान फेर्दै लिखित निवेदन दिएकी हुन् ।
जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीका अनुसार अमनाले आलमविरुद्ध बयान फेर्दै आफ्ना पति इँटाभट्टमा नमारिएको बरु विदेश गएर नफर्किएको निवेदन दिएको जानकारी दिए । इँट्टाभट्टामा जलाएर मारिएका भनिएका ओसी वैदेशिक रोजगारमा गएर नफर्किएको व्यहोरासहितको निवेदन उनले अदालतमा दर्ता गराएकी छिन् । श्रेस्तेदार पराजुलीले भने, ‘मेरो श्रीमान् विदेशमा गएपछि बा“चेको या मरेको खबर नआएको भन्दै उनी अदालतमा आएकी हुन् ।’
आलमविरुद्धको मुद्दामा सोमबार जिल्ला अदालतमा थुनछेक बहस हुने छ ।