
काठमाडौं । प्रहरीले बुद्ध एयरको उडिरहेको जहाजभित्रै कुटाकुट गर्ने दुई यात्रुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
बुधबार विराटनगर–काठमाडौं उडानका क्रममा झगडा गरेर उडान सुरक्षामै प्रभाव पारेको भन्दै प्रहरीले यात्रुद्धय दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।
७० यात्रु रहेको उक्त विमान उडिरहेकै बेला उनीहरुले मुक्कामुक्क गरेका थिए । उनिहरुको झगडाका कारण बाँकी यात्रु त्रासमा थिए भने जहाजभित्रको अवस्था तनावपूर्ण बनेको थियो । पछि एअर होस्टेज र अरु यात्रुले सम्झाइबुझाइ गरेपछि अवस्था शान्त भएको थियो ।
उनीहरुलाई बुधबार साँझ नै गौसला प्रहरीको जिम्मा लगाइएको थियो । बिहीबार गौशाला प्रहरीले दुईमध्ये विमलबाबु श्रेष्ठलाई ललितपुर प्रहरी परिसरमा पठाइदिएको छ भने दुर्गालाल श्रेष्ठलाई तारिखमा छाडेको गौशाला प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहका अनुसार विमलबाबुलाई १० लाख रुपैयाँ चेक बाउन्सको उजुरीमा थुनामा राखिएको छ । आफन्तसमेत रहेका उनीहरुबीच लेनदेलका विषयमा कुटाकुट भएको बुझिएको छ ।
जहाज उडानको समयमा भनाभनसँगै हातपात भएको जानकारी विमान चालकबाट आएपछि कारबाही अगाडि बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
ती यात्रुलाई गैरसैनिक हवाई ऐन २०१५ र नागरिक उड्डयन सुरक्षा नियमावली अन्तर्गतको कारबाही गर्ने तयारी गरेको उनले बताए । यदि दोषी देखिए कैद, जरिवानासँगै केही समयका लागि जहाज उडानमै प्रतिबन्ध लगाइने व्यवस्था रहेको उनले जानकारी दिए ।











