काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहकारिता ग्रासरुटको डेमोक्रेसी भएको बताएका छन् । शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सहकारी ग्रासरुटको डेमोक्रेसी भएको सहभागितामूलक लोकतन्त्र भएको भन्दै उनले यसले आममानिसको हित र जीवनमा काम गर्नुपर्ने बताए ।

उनले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई नेपालको संविधानले समेत अगाडि सारेको भन्दै घर घरमा र विदेशमा छरिएका स-साना पूँजीहरुलाई एकीकृत गरी ठूलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै हालैमात्र सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको बताए ।
गत भदौमा पार्टीको जनसङ्गठनको रुपमा स्थापित भएको समाजवादी सहकारी संगठन नेपालका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।











