Logo
Logo

राष्ट्रिय क्रिकेट टोली बंगलादेशतर्फ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ कार्तिक । बंगलादेशमा यसै सातादेखि सुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
कात्तिक २८ देखि मंसिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज सोमबार बंगलादेश प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन लागिएको अध्यक्ष चन्दले बताए । उनका अनुसार अन्य खेलाडी मंगलबार र बुधबार बंगलादेश जाने छन् ।
बंगलादेश प्रथान गर्नेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिष्ट रमन शिवाकोटी छन् । मङ्गलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रप्रताप सिंह (सहायक प्रशिक्षक) र फिजियो विक्रम न्यौपाने तथा बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम जानेछन् ।

उक्त प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बंगलादेश, ओमान र हङकङ सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा भारत, बंगलादेश र हङकङ छन् भने समूह ‘ए’ मा ओमान, पाकिस्तान श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ । नेपालले कात्तिक ३० गते हङकङसँग तथा मंसिर २ गते बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्