Logo
Logo

नेकपाको सचिवालय बैठक : टुंगियो सांगठनिक एकता


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकताको टुंगो लगाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न आयोगका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक रोकाया चयन भएका छन् । त्यस्तै, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णु पुकार श्रेष्ठ, सचिव माधव पौडेल, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्षमा पुष्प कँडेल, सचिव टेकनाथ आचार्य चयन भएका छन् । नेकपाको विधानमा केन्द्रीय आयोग बनाउने व्यवस्था रहेको छ ।
त्यस्तै, सचिवालय बैठकले केन्द्रीय सल्लाहकार कमिटी अध्यक्ष केशव बडाल, सचिव नन्दकुमार थापा, जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष नन्दकुमार प्रसाई, सचिव गोविन्द ज्ञवालीलाई चयन गरेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार नेकपाको प्रवास कमिटी नबनाउने निर्णय गरिएको छ । श्रेष्ठले भने, ‘प्रवासमा रहेका नेपालीलाई कसरी समेट्ने भन्ने विषयमा पार्टीमा थप छलफल गरिने भएको छ ।’
साथै सचिवालय बैठकमा भारतले हालै जारी गरेको नक्साको सन्दर्भमा पनि छलफ भएको छ । बैठकमा सरकारले भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यमार्फत भारतको ध्यानाकर्षण गराइसकिएको प्रधानमन्त्रीले बताएको श्रेष्ठले जानकारी दिए ।’
सरकारको अडान विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको र कूटनीतिक संयन्त्रमार्फत समस्या समाधानका लागी सरकार लागेको प्रधानमन्त्रीले जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए । प्रधानमन्त्रीले बैठकमा अब दुई देशबीच वार्ता गर्न आधिकारिक प्रस्ताव तयार गर्ने गृहकार्यमा सरकारले लागेको जानकारी दिएका थिए ।
नेपालको सीमा रक्षा गर्न र अतिक्रमण भूभाग फिर्ता गर्न नेकपाको सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताए । भारतले नेपालको लिपुलेक, कालापानीलगायतका भूभागसमेत राखेर नयाँ नक्सा सार्वजनिक गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्